एमसीसी फिर्ता लिन नेपाल र अमेरिकी सरकारलाई बामदेव गौतमको आग्रह
काठमाडौं - नेकपा एकता राष्ट्रिय अभियानका संयोजक बामदेव गौतमले अमेरिकी मिलिनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) परियोजना फिर्ता लिन नेपाल र अमेरिकी सरकारलाई आग्रह गरेका छन् ।
बुधबार एक विज्ञप्ति जारी गर्दै गौतमले एमसीसी परियोजनालाई लिएर नेपाली जनमत विभाजित भएको र तत्काल यो संसदबाट अनुमोदन हुन नसक्ने भन्दै परियोजना फिर्ता लिन माग गरेका हुन् ।
राष्ट्रिय सभा सदस्य समेत रहेका गौतमले नेपालको संसद र सरकार विशिष्ठ अवस्थाको रहेको भन्दै यो सरकार र संसदवाट एमसीसी अनुमोदन हुन नसक्ने उल्लेख गरेका छन् ।
‘अहिले आएको एमसीसी परियोजनाले नेपालको हित भन्दा पनि जनमतको विभाजनका कारण गम्भीर अहित हुने अवस्था सृजना हुने देखिएको छ । नेपालमा अहिलेको जटिल अवस्थामा जुन सरकार बनेको छ र जस्तो अवस्थामा संसद् रहेको छ, नेपाल सरकारले र संसद्ले पनि अनुमोदन गर्ने सक्ने अवस्था देखिन्न’ उनले भनेका छन्, ‘यस्तो अवस्थामा म नेपाल सरकार र संयुक्त राज्य अमेरिकी सरकार समक्ष एमसीसी परियोजना फिर्ता गर्न बिनम्र अनुरोध गर्दछु । यो अवस्थालाई मध्यनजर गर्दै एक पक्षीय रुपमा भए पनि मित्र राष्ट्र संयुक्त राज्य अमेरिकी सरकारलाई एमसीसी परियोजना फिर्ता लगेर नेपालको हित प्रबर्धन गर्न विनम्र अनुरोध गर्दछु ।’
एमालेका उपाध्यक्ष गौतम हाल पार्टी विभाजनपछि राजीनामा दिएर बसेका छन् ।

.gif)



फेसबुक पेज Like गर्नुहोस