काठमाडौं - अग्रता जोगाउन नसक्दा चर्च ब्वाइज युनाइटेड एएफसी च्यालेन्ज कप प्लेअफ खेलमा भुटानको पारो एफसीसँग २-१ ले पराजित भएको छ ।

खेलअघि पानी परेपछि हिलाम्मे बनेको दशरथ रंगशालामा भएको खेलमा लकेन लिमणबुको गोलमा चर्च ब्वाइजले सुरुवाती अग्रता लिएको थियो । तर किङ्गा वाङ्चुक र विलियम ओपोकुको गोलमा पारो एफसीले पुनरागमन गर्द‌ै जित निकालेको हो ।

जितपछि पारो एएफसी च्यालेन्ज लिगको समूह चरणमा प्रवेश गरेको छ भने महादेशीय क्लब प्रतियोगितामा डेब्यु गरेको चर्च ब्वाइज बाहिरिएको छ ।

प्रारम्भिक चरणको प्ले अफमा पारोका लागि घानाका विलियम ओपोकुले ६६ औं मिनेटमा गरेको गोल निर्णायक रह्यो । पेनाल्टी एरियाको ठीक बाहिर अनमार्क रहेका ओपाकुले गरेको प्रहार चर्च ब्वाइजका लागि गोलरक्षक दीप कार्कीलाई कुनै मौका नदिएर गोलमा परिणत भएको थियो ।

खेलको ३८ औं मिनेटमा चर्च ब्वाइजले अग्रता लिएको थियो र यसका लागि लाकेन लिम्बूले गोल गरे । मोसेस गाबाले हेडबाट दिएको पासमा लाकेनले नजिकको दूरीबाट गोल गरे । तर यो अग्रता लामो समय टिकेन । पारोका लागि किंगा वाङचुकले बराबरी गोल फर्काए ।

उनले ४० औं मिनेटमा चर्च ब्वाइजका गोलरक्षक दीप अगाडि बढेको अवस्थामा गोल गरे । पूरा खेल भने दशरथ रंगशालाको हिलाम्ये मैदानका कारण प्रभावित रह्यो । खेल अगाडिको वर्षाका कारण सुरुमै पानी जमेकोले मैदान खराब भएको थियो ।

पारो अहिले चलिरहेको भुटानी प्रिमियर लिगको शीर्ष स्थानमा छ । सिनियर स्तरमा कुनै पनि भुटानी टोलीले नेपाली टिमलाई हराएको यो नै पहिलो पटक हो । पारोले सुरुआती ११ मा नौजना विदेशी खेलाडी उतारेको थियो ।