अमेरिकामाथि नेपालको शानदार जित
काठमाडौं - आइसिसी विश्वकप लिग २ त्रिकोणात्मक ओडिआई सिरिजको पहिलो खेलमा युवा ब्याट्सम्यानद्वय रोहित कुमार पौडेल र कुशल भुर्तेलको अर्धशतकीय पारीमा नेपालले अमेरिकालाई ५ विकेटले पराजित गरेको छ ।
अमेरिकाले टस जितेर पहिले ब्याटिङ गर्दै नेपालसामु २ सय ३१ रनको लक्ष्य दिएको थियो । नेपालले ४९ ओभरमा ५ विकेट गुमाउँदै ६ बल बाँकी रहँदै लक्ष्य पूरा गर्यो ।
युवा ब्याट्सम्यान रोहित कुमार पौडेल ८७ बलमा २ चौका र ३ छक्का सहित ६२ रनमा अविजित रहँदै नेपालको जित पक्का गराए । विकेटकिपर विनोद भण्डारी ४८ बलमा २ चौका र १ छक्का सहित ३७ रनमा क्याच आउट भए ।
पाँचौ विकेटका लागि रोहित र विनोदले ८३ रनको कीर्तिमानी साझेदारी गर्दै नेपालको जित पक्का गराएका हुन् । नेपालको ओडिआईमा पाँचौ विकेटका लागि भएको यो उच्च साझेदारी हो ।
ओपनर कुशल भुर्तेलले ९३ बलमा ३ चौका र ३ छक्का सहित सर्वाधिक ८४ रनको योगदान दिए । उनी म्यान अफ द म्याच घोषित भए ।
त्यसअघि अल अमारत क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ रोजेको अमेरिकाले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै २ सय ३० रन बनाएको थियो । अमेरिका मोनांक पटेलले १ सय १४ बलमा ९ चौका र १ छक्का सहित सर्वाधिक १ सय रनको शतकीय पारी खेले । उनी अमेरिकाबाट ओडिआईमा शतक प्रहार गर्ने दोस्रो खेलाडी पनि बने ।
नेपालका स्पिनर सुशान भारीले १० ओभरमा ३१ रन खर्चेर २ विकेट लिए । यस्तै स्पिनर सन्दीप लामिछानेले १० ओभरमा २ मेडनसहित ३५ रन खर्चेर २ विकेट लिए भने विक्रम सोबले ६ ओभरमा ३३ रन खर्चेर २ विकेट हात पारे । कुशल मल्लले एक विकेट लिए । नेपालले दोस्रो खेलमा घरेलु टोली ओमानसँग मंगलबार खेल्दैछ ।

.gif)



फेसबुक पेज Like गर्नुहोस