मुखर्जीको निधनबाट नेपालले एक असल मित्र गुमाएको छ : राष्ट्रपति
काठमाडौं - राष्ट्रपति विद्यादेवी भण्डारीले भारतका पूर्वराष्ट्रपति प्रणव मुखर्जीको आज भएको निधनबाट आफू मर्माहत भएको बताएकी छन्। उनले आज साँझ ट्विट गर्दै नेपाली जनता, नेपाल सरकार तथा आफ्नो व्यक्तिगततर्फबाट भारतीय जनता, भारत सरकार र शोकाकूल परिवारप्रति समवेदना व्यक्त गरेकी हुन्।
'भारतका पूर्व राष्ट्रपति श्री प्रणव मुखर्जीको आज भएको दु:खद् निधनबाट मर्माहत भएको छु । नेपाली जनता, नेपाल सरकार तथा मेरो व्यक्तिगत तर्फबाट भारतीय जनता, भारत सरकार र शोकाकुल परिवारप्रति हार्दिक समवेदना व्यक्त गर्दछु । उहाँको निधनबाट नेपालले एक असल मित्र गुमाएको छ', ट्विटमा उल्लेख छ।
भारतीय पूर्वराष्ट्रपति प्रणव मुखर्जीको ८४ वर्षको उमेरमा सोमबार निधन भएको छ। स्वास्थ्य अवस्था बिग्रिएपछि दुई साताअघि उनलाई दिल्लीस्थित सैनिक अस्पतालमा भर्ना गरिएको थियो।
साथै मुखर्जीमा कोरोनाभाइरसको संक्रमण समेत देखिएको थियो। मुखर्जीका छोरा अभिजितले भारतीय मिडियालाई जानकारी दिए अनुसार सोमबार अस्पतालमै उपचारको क्रममा उनको निधन भएको हो। केही दिनदेखि नै उनी कोमामा पुगेपछि स्वास्थ्य अवस्था खराब बन्दै गएको चिकित्सकले बताउँदैआएका थिए।
यसवाहेक उनी फोक्सो सम्बन्धी समस्यासँग पनि केही वर्षदेखि जुधिरहेका थिए। अभिजितले सोमबार दिउँसो आफ्नो ट्वीटरमा समेत बाबुको निधनबारे लेखेका छन्। मुखर्जी २०१२ देखि २०१७ सम्म भारतको राष्ट्रपतिको रुपमा शासन सत्तामा थिए।

.gif)




फेसबुक पेज Like गर्नुहोस