काठमाडौं, वीरगञ्ज - पूर्वप्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले अब तत्कालै सरकारले तीन तहको निर्वाचन घोषणा गर्नुपर्ने बताएका छन् । नेकपा (एमाले) को जिल्ला समिति पर्साले आज जगरनाथपुरमा आयोजना गरेको पार्टी प्रवेश कार्यक्रममा अध्यक्ष ओलीले वर्तमान सरकारले तत्कालै तीनै तहको निर्वाचन गरी मुलुकलाई निकास दिनुपर्ने औँल्याए ।

उनले कृषिको आधुनिकीकरण र विद्युतीकरणको विकासले मात्र मुलुकको समृद्धि तथा विकास सम्भव भएकाले यसका लागि सरकारको ध्यान केन्द्रित हुनुपर्ने जिकिर गरे । उनले सामाजिक सुरक्षादेखि जनताको जीवनस्तर उकास्नका लागि नेकपा एमालेले विगतमा विभिन्न कार्य गरेको दावी गरे ।

अध्यक्ष ओलीलाई १५१ किलोको माला

अध्यक्ष ओलीलाई पर्सामा आज आयोजित एक कार्यक्रममा १५१ किलोको माला लगाएर स्वागत गरिएको छ । नेकपा एमालेको जिल्ला समिति पर्साले जगरनाथपुरमा आयोजना गरेको पार्टी प्रवेश कार्यक्रममा पार्टी कार्यकर्ताले उनलाई १५१ किलोको माला लगाइएर स्वागत गरेका थिए ।

जगरनाथपुर गाउँपालिकामा राखिएको पार्टी प्रवेश कार्यक्रमका लागि ओली पर्सा आएका हुन् । सो क्रममा ओलीले जगरनाथपुर गाउँपालिकाका अध्यक्ष जालिम मियालगायतका सयौँ नेताकार्यकर्तालाई नेकपा एमालेमा प्रवेश गराई स्वागत गरेका थिए । मिया नेकपा माओवादी केन्द्रबाट २०७४ सालको स्थानीय तहको निर्वाचनमा गाउँपालिका अध्यक्षमा निर्वाचित भएका थिए ।