काठमाडौँ - एसियन गेम्सको छनोट खेलमा नेपालले चीनलाई ३ सय १४ रनको भीमकाय लक्ष्य दिएको छ । टस हारेर पहिलो ब्याटिङ गरेको नेपालले २ विकेट क्षतिमा ३ सय १३ रन बनाएको हो ।

नेपालका लागि ओपनर कुशल भुर्तेलले बिष्फोटक शतक प्रहार गरे । उनले ४३ बलमा १ सय २९ रन बनाएका हुन्, जसमा १६ छक्का र ५ चौका सामेल थिए । कुशल मल्लले ४७ बलमा ८५ रन र कप्तान रोहित पौडेलले २१ बलमा ६९ रन बनाएर अविजित रहे ।

नेपालले बनाएको ३ सय १३ रन टि २० अन्तर्राष्ट्रियको इतिहासमा तेस्रो ठूलो हो । नेपालले यसअघि मंगोलियाविरूद्ध ३ सय १४ रन जोडेको थियो । टि२० आईमा सबैभन्दा बढी स्कोर जिम्बाबेले जाम्बियाविरूद्ध ३ सय ४४ रन बनाएको छ ।