काठमाडौं - राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नेतृत्वको सरकारले घोषणा गरेको १०० बुँदे शासकीय सुधार कार्यसूचीको कार्यान्वयन प्रगति ८७.२ प्रतिशत पुगेको दाबी गरेको छ ।

शनिबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सरकारका १०० दिनका प्रमुख उपलब्धि सार्वजनिक गर्दै सरकारका प्रवक्ता तथा शिक्षा, विज्ञान तथा खेलकुदमन्त्री सस्मित पोखरेलले १०० बुँदे कार्यसूचीमध्ये ७० वटा बुँदा पूर्ण रूपमा कार्यान्वयन भइसकेको जानकारी दिए ।

उनका अनुसार १७ वटा बुँदाको कार्यान्वयन प्रगति ८० प्रतिशतभन्दा माथि पुगेको छ भने १३ वटा बुँदामा ६० प्रतिशतभन्दा कम प्रगति भएको छ। बाँकी कार्यसूची पनि निर्धारित समयसीमाभित्र सम्पन्न गर्ने गरी काम भइरहेको उनले बताए।

मन्त्री पोखरेलले सरकारले कार्यसम्पादनलाई नतिजामुखी, प्रभावकारी, मापनयोग्य र जवाफदेही बनाउने लक्ष्यसहित अघि बढिरहेको उल्लेख गरे।

उनका अनुसार शासकीय सुधारका कार्यक्रमहरूको उद्देश्य सार्वजनिक सेवा प्रवाहमा सुधार, प्रशासनिक उत्तरदायित्व बढाउने तथा नागरिकले प्रत्यक्ष अनुभूति गर्ने परिवर्तन ल्याउनु हो।

वर्तमान सरकारले गत चैत १३ गते समग्र सरकारी कार्यसम्पादनलाई परिणाममुखी बनाउने र नागरिक जीवनमा प्रत्यक्ष सुधार ल्याउने उद्देश्यसहित नतिजामा आधारित शासकीय प्रबन्ध लागू गर्ने घोषणा गरेको थियो ।