काठमाडौं - पत्रकार दिलभूषण पाठकविरुद्ध साइबर अपराधको मुद्दा दर्ता भएको छ । पत्रकार पाठकविरुद्ध जिल्ला अदालत काठमाडौंमा आज सोमबार मुद्दा दर्ता भएको बताइएको छ । नेपाल प्रहरीको साइबर ब्युरोको अनुसन्धानपछि जिल्ला सरकारी वकिलको कार्यालयले मुद्दा अदालत लगेको हो ।

पत्रकार पाठकले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र परराष्ट्रमन्त्री आरजु राणा देउवाका छोरा जयवीर देउवाको तारे होटल हिल्टनमा लगानी रहेको, अस्ट्रेलिया, क्यानडा, दुबईमा पनि लगानी रहेको दाबी गर्दै कार्यक्रम प्रशारण गरेका थिए ।

उक्त कार्यक्रम भिडिओ, स्कृनसर्ट कागजातहरू पनि अभियोग पत्रका साथ पेस गरिएको छ । तर, प्रहरीले पाठकसँग भने बयान लिएको छैन । यसअघि नै जिल्ला अदालतबाट पक्राउ पुर्जी लिएर साइबर ब्युरोले अनुसन्धान गर्ने तयारी गरे पनि उच्च अदालतले पाठकलाई पक्राउ नगर्न अन्तरिम आदेश जारी गरेको थियो ।

सोहीकारण पाठकको बयानसमेत नगराइ अदालतमा अभियोग पत्र बुझाइएको छ। यो कसुरमा उनलाई विद्युतीय कारोबार ऐन–२०६३ अन्तर्गत सजाय माग गरिएको छ । उनीविरुद्ध देउवा परिवारले उजुरी दिए पनि अभियोग पत्रमा जाहेरवालाको नाम उल्लेख गराइएको छैन ।

विद्युतीय कारोबार ऐन ०६३ को दफा ४७ को उपदफा १ बमोजिमको कसुरमा सजाय हुन माग दाबी गरिएको छ । यस्तै हाल फरार भनिएका पाठकलाई मुलुकी फौजदारी कार्यविधि संहिता ०७४ को दफा ५७ बमोजिम अदालतबाट पक्राउ पुर्जी जारी गर्नसमेत माग गरिएको छ ।