काठमाडौं - नेकपा एमालेले स्वदेशमै युवालाई रोजगारी दिने योजना अघि सारेको छ । चुनावी घोषणापत्रमार्फत् एमालेले पाँच लाख नेपालीलाई रोजगारी दिने र न्यूनतम ज्याला २५ हजार दिने बताएको छ । 

एमालेले पाँच वर्षमा ६० लाख नागरिकलाई सामाजिक सुरक्षा भत्ता दिने जनाएको छ। साथै, आर्थिक बृद्धिका आधारमा सबै प्रकारका भत्ता बृद्धि गर्ने पनि घोषणापत्रमा उल्लेख छ । 

घोषणापत्रमा २० हजार शब्द रहेका छन् । जसमा अध्यक्ष ओलीले ६ वटा प्रश्न सर्वसाधारणलाई सोधेका छन् भने पार्टीको चुनाव चिन्हमा किन भोट हाल्ने, अरुलाई किन नहाल्ने भन्ने प्रस्ट्याउन खोजिएको छ ।

घोषणापत्रमा सुशासन, विकास, समृद्धि र स्वाधीनता चार संकल्प व्यक्त गरिएको छ । घोषणापत्र सार्वजनिक कार्यक्रममा उपाध्यक्ष सुवासचन्द्र नेम्बाङ, अष्टलक्ष्मी शाक्य, युवराज ज्ञवाली, विष्णु पौडेल, महासचिव शंकर पोखरेल, उपमहासचिव पृथ्वी सुब्बा गुरुङ, विष्णु रिमाललगायत उपस्थित छन् ।