काठमाडौं - प्रहरी महानिरीक्षक मनोजकुमार केसीले नजिकिँदै गरेका चाडपर्वलाई लक्षित गरी विशेष सुरक्षा योजना लागू गर्न र प्रहरी परिचालनलाई प्रभावकारी बनाउन निर्देशन दिएका छन् ।

शुक्रबार नेपाल प्रहरी प्रधान कार्यालयबाट भर्चुअल माध्यममा प्रहरी कर्मचारीलाई सम्बोधन गर्दै उनले दीपावली, नेपाल संवत् र छठलगायतका पर्वमा हुन सक्ने आपराधिक गतिविधि नियन्त्रण गर्न विशेष सतर्कता अपनाउन निर्देशन दिएका हुन् ।

चाडपर्वका बेला चोरी, लुटपाट तथा अन्य आपराधिक घटना बढ्न सक्ने भएकाले सुरक्षा व्यवस्था चुस्त बनाउन उनले प्रहरी अधिकारीहरूलाई निर्देशन दिए ।

त्यस्तै, पटका तथा विस्फोटक पदार्थको अवैध कारोबार र प्रयोग नियन्त्रण गर्न तथा सामाजिक सद्भाव खल्बल्याउने गतिविधिप्रति सचेत रहन आग्रह गरे ।

महानिरीक्षक केसीले स्थानीय तह र अन्य सरोकारवालासँग समन्वय गरी आवश्यक सुरक्षा योजना बनाउन पनि निर्देशन दिएका छन् ।

प्रदेश तथा जिल्ला प्रहरी प्रमुखलाई आफ्नो कार्यक्षेत्रको नियमित अनुगमन गर्न र सुरक्षामा देखिएका कमजोरी तत्काल सुधार गर्न उनले जोड दिएका छन् ।

कार्यक्रममा प्रहरीका उच्च अधिकारीसहित सातै प्रदेशका प्रहरी कार्यालय, जिल्ला प्रहरी कार्यालय तथा मातहतका निकायका प्रमुख र प्रतिनिधिहरू भर्चुअल रूपमा सहभागी थिए ।