पोखरा - कोरोना भाइरस संक्रमणको कारण पोखरामा थप एक ८७ वर्षीय बृद्धको मृत्यु भएको छ । मंगलबार बिहान पोखरा महानगरपालिका– १६ निवासी ८७ वर्षीय वृद्धको मृत्यु भएको पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखराका निर्देशक डा. अर्जुन आचार्यले बताए ।

यस्तै, यसभन्दा अघि पनि पोखरामै तनहुँकी ५० वर्षीया कोरोना संक्रमित महिलाको गएराति मृत्यु भएको उक्त अस्पतालले जनाएको छ । पछिल्लो समय मृत्यु भएका ती पोखराका ८७ वर्षीय वृद्धलाई गत साउन ३२ गते पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गतको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा लगिएको थियो ।

मृतक बृद्धमा उच्च ज्वरो र श्वासप्रश्वासको समस्या थियो । समस्या बढ्दै गएपछि उनलाई भदौ १ गते आईसीयूमा भर्ना गरिएको थियो भने उनमा डायबिटिज र मिर्गौलाको समेत समस्या थियो ।