काठमाडौं - पाँच-सातजना यात्रु चढेका बस । सुरक्षाका लागि सिसिक्यामेरा र बसमै हतियारसहितका प्रहरी । राति ८ बजेपछि काठमाडौंलाई फन्को मार्न विभिन्न रुट भएर एकसाथ हुइँकिन्थे, १४ वटा बस । १ भदौ ०६९ को बेलुकी तत्कालीन उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठले न्युरोड गेटमा राति तीन घन्टा मात्रै चल्ने बसको रिबन काटेका थिए ।

ती बस चलाउन काठमाडौं महानगरपालिकाले ४५ लाख रुपैयाँ अनुदान दिएको थियो । महानगरले खर्च व्यहोरेका कारण चालकले सडकमा यात्रु बोलाउनु पर्दैनथ्यो, न त चोकैपिच्छे रोकेर कराउनुपथ्र्यो । यात्रु नभेट्दा पनि एक फन्को मार्थे र फर्किन्थे । तर, डेढ वर्ष नबित्दै रात्रिबस सेवा बन्द भए । त्यसयता काठमाडौंमा सर्वसाधारणलाई साँझ परेपछि यात्रा गर्न सधैँ सास्ती छ ।

देशकै केन्द्रीय राजधानी, पहिलो र ठूलो महानगरपालिका भए पनि काठमाडौं आधा दिन मात्रै जागा रहन्छ । बिहान घाम झुल्केपछि उठ्ने काठमाडौं बेलुकी साँझ पर्नेबित्तिकै सुत्छ । बेलुकी ८ बजे अधिकांश सपिङ मल, बजार र पसलहरू बन्द भइसक्छन् ।

बन्द नभए प्रहरी नै सटर तान्न पुग्छन् । ठूला उद्योगधन्दासमेत दिउँसो मात्रै खुल्छन् । बेलुकी ८ नबज्दै सार्वजनिक गाडी पातलिन्छन् । अस्पताल जानुपर्दा होस् वा कार्यालयबाट घर फर्किनुपर्दा, बेलुकी भएपछि ट्याक्सीको महँगो भाडा तिर्नुपर्ने बाध्यता छ ।

‘महानगरीय सहर’ भए पनि यहाँ अहिलेसम्म राति पनि बजार जान, किनमेल गर्न र घुमफिर गर्न सकिने व्यवस्था सरकारले गर्न सकेको छैन । महानगरपालिकाले चालू आवको नीति तथा कार्यक्रममा आर्थिक महत्वका निश्चित क्षेत्रहरूमा राति अबेरसम्म बजार खुला गर्ने व्यवस्था मिलाइने भनेको छ । तर, अहिलेसम्म त्यस्तो पहल सुरु भएको छैन । 

नयाँ पत्रिकाबाट