काठमाडौं-संसद्को राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले कुलिङ पिरियडमा देखिएको कमजोरीको नैतिक जिम्मेवारी आफूले लिने बताएका छन् ।

मंगलबार समिति बैठकमा माओवादी सांसदद्वय माधव सापकोटा र कल्पना मियाँले समितिले पास गरेको प्रतिवेदनमा ‘बाहेक’ शब्द कसरी थपियो भन्ने विषयमा जवाफ मागेपछि खतिवडाले भएको कमजोरीको नैतिक जिम्मेवारी लिने बताएका हुन् ।

सभापति खतिवडाले संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमा भएको गडबढीबारे आफूले नैतिक जिम्मेवारी लिने बताएका हुन् ।

सभापति खतिवडाले भने–‘जनप्रतिनिधिको बदनाम गर्ने काम भएको छ । कहाँ कमजोरी भएको हो, छानबिन गर्छौं । मेरो कमजोरी देखिए म कारबाही भोग्छु । जसको कमजोरी देखिन्छ, त्यसले कारबाही भोग्नुपर्छ । उम्किन पाइन्न ।’