काठमाडौं - उपत्यकामा जारी निषेधाज्ञाबारे निर्णय गर्न आज काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारी (सीडीओ) हरुबीच भर्चुअल संवाद हुँदैछ ।

काठमाडौंका सीडीओ जनकराज दाहालका अनुसार आज बिस्तृत समीक्षात्मक बैठक बसेर छलफल गरिनेछ ।

छलफलपछि तीनै जिल्लाका सीडीओसहित जिल्ला सुरक्षा समिति र जिल्ला संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी) को संयुक्त बैठक बस्नेछ । त्यसको रायसुझाव अनुसार गृह मन्त्रालयसँग समन्वय गरेर निषेधाज्ञा थप्ने वा नथप्ने विषयमा निर्णय लिइने छ ।

काठमाडौँ उपत्यकामा भदौ ३ गतेदेखि निषेधाज्ञा जारी छ। जारी निषेधाज्ञा भोलि बुधबार मध्यराति सकिँदैछ।