युभेन्ट्स पराजित, रोमा र इन्टर विजयी
काठमाडौं - इटालियन सिरी ए फुटबलमा युभेन्ट्स पराजित हुँदा रोमा र इन्टर मिलन भने विजयी भएका छन् ।
बुधबार राति भएको खेलमा युभेन्ट्स सासोउलोसँग पराजित हुँदा रोमाले कागलियरीलाई पराजित गर्याे भने इन्टर मिलनले १० खेलाडीमा सीमित इम्पोलीलाई पराजित गरेको हो ।
घरेलु मैदान टुरिनमा युभेन्ट्स सासोउलोसँग २-१ गोल अन्तरले पराजित भएको हो । खेलको ४४औँ मिनेटमा डाभिड फ्राटेस्सीले गोल गर्दै सासोउलोलाई सुरुआती अग्रता दिलाएका थिए । खेलको ७६औँ मिनेटमा वेस्टन म्याकेन्नीले गोल गर्दै युभेन्ट्सलाई १– १ गोलको बराबरीमा फर्काए ।
त्यसपछि खेलको इन्जुरी समयमा म्याक्सिम लोपेजले गोल गर्दै सासोउलोलाई २–१ को जित दिलाए । जितसँगै सासोउलोले १० खेलमा १४ अंक जोडेको छ । सासोउलो नवौं स्थानमा छ । पराजित युभेन्ट्सले १० खेलमा १५ अंक जोड्दै सातौ स्थानमा छ ।
इन्टरले भने डानिलो र फेडेरिको मिमार्काेको गोलमा इम्पोलीलाई २-० गोल अन्तरले पराजित गरेकाे छ । जितसँगै इन्टर १० खेलबाट २१ अंक सहित तेस्रो स्थानमा छ ।
रोमाले एक गोलले पछि परको स्थिति उल्टाउँदै रोगर इबानेज र रोलेन्जो पेलग्रिनीको गोलमा कागलियरीलाई २-१ गोल अन्तरले पराजित गर्याे । घरेलु टोली कागलियरीको लागि लिओनार्दाे पाभालिटोले खेलको ५२ मिनेटमा अग्रता दिलाएका थिए । जितसँगै रोमा १९ अंकका साथ चौथो स्थानमा छ ।
बुधबार राति नै भएका अन्य खेलमा लाजियोले फिओरेन्टिनालाई १–० गोल अन्तरले हरायो । एटलान्टाले सम्पाडोरियालाई ३–१ गोल अन्तर तथा उडिनेस र हेलास भेरोनाले १–१ को बराबरी खेले ।

.gif)



फेसबुक पेज Like गर्नुहोस