काठमाडौै,एजेन्सी - ब्राजिलमा जारी कोपा अमेरिका फुटबलमा अर्जेन्टिनाले पहिलो जित निकालेको छ ।

नेपाली समयानुसार शनिबार बिहान भएको खेलमा उरुग्वेलाई १-० गोल अन्तरले पराजित गर्दै अर्जेन्टिनाले पहिलो जित निकालेको हो ।

अर्जेन्टिनालाई जित दिलाउन गुइडो रोड्रिगेजले निर्णायक गोल गरे । खेलको १३ औं मिनेटमा रोड्रिगेजले निर्णायक गोल गरेका हुन् ।

जितसँगै समूह ‘ए’को अर्जेन्टिनाले २ खेलमा ४ अंक जोडेको छ । अर्जेन्टिना शीर्ष स्थानमा रहेको छ । हारबाट प्रतियोगिताको सुरुवात गरेको उरुग्वे चौंथो स्थानमा रहेको छ ।

यस्तै, आजै भएको अर्को खेलमा चिली विजयी भएको छ । चिलीले बोलिभियालाई १-० गोल अन्तरले पराजित गरेको हो ।

चिलीलाई जित दिलाउन बेन ब्रेरेटोनले १० औं मिनेटमा निर्णायक गोल गरे । जितसँगै समूह ‘ए’को चिलीले २ खेलमा ४ अंक जोडेको छ । चिली समूहको दोस्रो स्थानमा रहेको छ । पुछारमा रहेको बोलिभियाको यो लगातार दोस्रो हार हो ।