काठमाडौं - सर्वोच्च अदालतले नेकपा एमालेको केन्द्रीय कार्यालय भवन बनाउन व्यवसायी एवं भाटभटेनी सुपरमार्केटका अध्यक्ष मीनबहादुर गुरुङले गरेको जग्गादानविरुद्धको परेको रिटमा अल्पकालीन अन्तरिम आदेश दिएको छ ।

अधिवक्ता ज्ञानकुमार बस्नेतले दायर गरेको रिटमाथि सोमबार सुनुवाइ गर्दै न्यायाधीश सुनिलकुमार पोखरेलले अल्पकालीन अन्तरिम आदेश दिएको हो ।

विभिन्न भ्रष्टाचार काण्डमा मुछिएका भाटभटेनीका अध्यक्ष गुरुङले एमालेको केन्द्रीय कार्यालय बनाउन भनी गत असोज २५ गते काठमाडौंको कीर्तिपुर नगरपालिका–२, मैत्रीनगरमा रहेको १० रोपनी १४ आना जग्गा दान गरेको घोषणा गरेका थिए ।

सोही दिन प्रधानमन्त्री केपी शर्मा ओली दम्पती र जग्गादाता गुरुङ दम्पतीले संयुक्त रूपमा एमाले मुख्यालय भवनको शिलान्याससमेत गरेका थिए ।

मुलुकको कार्यकारी पदमा बसेर दानका रूपमा विवादित व्यवसायीबाट यति ठूलो सम्पत्ति दान लिनु भ्रष्टाचार नै भएको दाबी गर्दै अधिवक्ता बस्नेतले गत बुधबार सर्वोच्चमा रिट दायर गरेका थिए ।

आफूले दान गरेको जमिनमा अर्को वर्ष दशैँको घटस्थापनाका दिन उद्घाटन गर्ने गरी एमाले केन्द्रीय कार्यालय भवनसमेत बनाइदिने घोषणा व्यवसायी गुरुङले गरेका छन् ।