काठमाडौं - नेपाली कांग्रेसका उपसभापति विजयकुमार गच्छदारले आफूलाई फसाउन नियोजित रुपमा ललितानिवास जग्गा प्रकरणमा तानिएको दाबी गरेका छन् । 

आफूलाई फसाउन अन्य कारण नभेटेपछि सो प्रकरणमा तानेको उनको जिकिर छ । बुधबार कांग्रेस केन्द्रीय कार्यालयमा आयोजित एक कार्यक्रममा बोल्दै गच्छदारले ललितानिवास प्रकरणमा आफूलाई  ‘फेक’ मुद्दा लगाइएको दाबी गरे । 

‘नेपाली कांग्रेस ठूलो पार्टी बन्दै छ, अब विजय गच्छदारलाई हराउन नसकिने भयो, अन्य ढंगले पनि तह लगाउन नसकिने भयो भनेपछि ललितानिवास प्रकरणमा तानियो,’ गच्छदारले भने । 

तत्कालिन केपी शर्मा ओलीको सरकारले आफूलाई बदनाम गर्न सो मुद्धामा फसाएको उनको दाबी छ । ‘राजनीतिक प्रतिशोध साध्न राज्यको एउटा महत्वपूर्ण निकायलाई दुरुपयोग गरियो ।’ गच्छदारले भने ।