ओखलढुङ्गा - ओखलढुङ्गामा ७२ वर्षीय क्यान्सर पीडित एक ज्येष्ठ नागरिकले कोरोना जितेका छन्। उनीसहित पाँच जनालाई कोरोना निको भएपछि अहिलेका लागि ओखलढुङ्गा कोरोना सङ्क्रमणमुक्त जिल्ला भएको छ ।

हालसम्म जिल्लाको लिखु गाउँपालिकामा पाँच जना र सुनकोशी गाउँपालिकामा एक जना गरी छ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको थियो ।

लिखु गाउँपालिकाका ७२ वर्षीय ज्येष्ठ नागरिकलाई कोरोना सङ्क्रमण देखिएपछि स्वास्थ्यकर्मीको निगरानीमा आफ्नै घरमा उपचार गराइएको थियो । हाल उहाँसँगै अन्य पाँच जनालाई कोरोना नेगेटिभ देखिएको छ ।

चाैध दिन आइसोलेसनमा बसेपछि सबै जनाको पुनः परीक्षण गर्दा सबै जनामा कोरोना नदेखिएको र आइसोलेसनमा भएका सबैलाई आज डिस्चार्ज गरिने स्वास्थ्य कार्यालय ओखलढुङ्गाका प्रमुख सुमन तिवारीले बताए । क्यान्सरकै कारण थप उपचारका लागि अस्पतालसम्म नलगिएका ज्येष्ठ नागरिक तथा उहाँको परिवार समेतमा कोरोना नेगेटिभ देखिएको तिवारीको भनाइ छ ।