काठमाडौं,एजेन्सी - साविक विजेता पोर्चुगलले १६ औं संस्करणको युरोकप फुटबलमा विजयी सुरुवात गरेको छ । गएराति भएको समूह चरणको पहिलो खेलमा हंगेरीलाई ३-० गोल अन्तरले पराजित गर्दै पोर्चुगलले सुखद सुरुवात गरेको हो ।

पोर्चुगलको जितमा कप्तान क्रिस्टियानो रोनाल्डोले दुई र राफायल गुइरेरोले एक गोल गरे ।  घरेलु टिम हंगेरीले पहिलो हाफमा पोर्चुगललाई बराबरीमा रोकेको थियो । तर, दोस्रो हाफको अन्तिम १० मिनेट भित्र तीन गोल व्यहोर्यो ।

खेलको ८४ औं मिनेटमा राफायलले गोल गर्दै पोर्चुगललाई सुरुवाती अग्रता दिलाए । त्यसको तीन मिनेटमा  रोनाल्डोले पेनाल्टीमा गोल गर्दै टिमको अग्रता २-० को बनाए । खेलको इन्जुरी समयको दोस्रो मिनेटमा रोनाल्डोले व्यक्तिगत दोस्रो गोल गर्दै पोर्चुगललाई ३-० को जित दिलाए । 

पहिलो खेलमै रेकर्डैरेकर्ड

यूरो २०२० मा विजयी शुरुवात गर्ने क्रममा क्रिस्टियानो रोनाल्डोले दुई नयाँ कीर्तिमान बनाउन सफल भएका छन् । उनी युरोकप फुटबलमा सर्वाधिक गोल गर्ने खेलाडी बनेका छन् । उनले युरोकपमा ११ गोल गर्दै कीर्तिमान बनाएका हुन् । 

रोनाल्डोले फ्रान्सका मिचेल प्लाटिनीले बनाएको ९ गोलको कीर्तिमान तोडेका हुन् । ३६ वर्षीय रोनाल्डोले पाँच संस्करणको युरोकप खेल्ने पहिलो खेलाडीको कीर्तिमान समेत बनाएका छन् । 

रोनाल्डोले यस अघि चार संस्करणको युरोकप खेलिसकेका छन् । रोनाल्डोले पहिलो पटक सन् २००४ को युरोकप खेलेका थिए । त्यसपछि उनले २००८, २०१२ र २०१६ को संस्करण खेलेका छन् । २०१६ मा रोनाल्डोको कप्तानीमा पोर्चुगलले उपाधि जितेको थियो ।

यस्तै उनी लगातार पाँच संस्करणमा गोल गर्ने खेलाडी समेत बने । रोनाल्डोले डेब्यु संस्करणमा २ गोल गरेका थिए । त्यसपछिको तीन संस्करणमा क्रमश १,३ र ३ गोल गरेका छन् ।

दुई गोलसँगै अली देइले बनाएको सर्वाधिक अन्तर्राष्ट्रिय गोलको कीर्तिमानको पनि उनी झनै नजिक पुगेका छन् । रोनाल्डोको अन्तर्राष्ट्रय खेलहरुमा गोल संख्या १०६ पुगेको छ । यूरोमा अन्तिम १० मिनेटमा ३ गोल गर्ने पोर्चुगल​ पहिलो टोली बनेको छ ।