विराटनगर - देवानगञ्ज घटनामा मृत्यु भएका परिवारहरूले शव बुझ्न अस्वीकार गरेका छन् । सरकारसँग औपचारिक सहमति भइसकेपछि पनि सुनसरीको देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्ज गोली काण्डमा मृत्यु भएका दुई युवाको शव बुझ्न परिवार र आफन्तले अस्वीकार गरेका छन् ।

गए राती गृहमन्त्री सुधन गुरुङसँग भएको सहमतिमा आज शव बुझ्ने सहमति भएको थियो । सहमतिपछि पनि परिवारले शव नबुझेपछि मृतकको अन्तेष्टी अन्योलमा परेको छ । स्थानीयको विरोध र असन्तुष्टीपछि शव बुझ्न विराटनगर आएका परिवारका सदस्य गाउँ फर्किएका छन् ।

सुनसरीका प्रमुख जिल्ला अधिकारी ईश्वरीप्रसाद अर्यालले शव बुझ्न अवरोध गर्नेहरूसँग छलफल भइरहेको बताए । उनले प्रहरीले समन्वय गरेर मिलाउने प्रयास भइरहेको जानकारी दिए ।

गत आइतबार राति देवानगञ्ज गाउँपालिका कप्तान गन्जमा दुई समुदायका बिचमा भएको विवादका क्रममा सशस्त्र प्रहरीले गोली चलाउँदा स्थानीय ओमप्रकाश मेहताको घटना स्थलमै मृत्यु भएको थियो । यस्तै गोली लागेर घाइते भएका जयप्रकाश मेहताको बिहीबार उपचारका क्रममा मृत्यु भएको थियो ।

दुवै मृतकको शव हाल विराटनगरस्थित न्युरो अस्पतालको शव गृहमा राखिएको छ । सरकार र मृतक पक्षबिच बिहीबार राति सहमति भए पनि परिवारले शव नबुझ्ने अडान लिएपछि पोस्टमार्टम प्रक्रिया समेत अघि बढ्न सकेको छैन ।

गृहमन्त्री सुधन गुरुङको उपस्थितिमा देवानगञ्ज गाउँपालिकाको कार्यालयमा भएको छलफलपछि सरकार र पीडित पक्षबिच औपचारिक सम्झौता पत्रमा हस्ताक्षर भएको थियो । मृतक परिवारले उठाएका माग सम्बोधन गर्ने प्रतिबद्धता सरकारले जनाएपछि सहमति भएको हो ।

सहमति पत्रमा सरकारले मृतक ओमप्रकाश मेहता र जयप्रकाश मेहतालाई सहिद घोषणा गर्ने प्रक्रिया अघि बढाउने, दुवै परिवारलाई प्रतिपरिवार १० लाख रुपैयाँ राहत उपलब्ध गराउने, घटनाका दोषीमाथि कारबाही प्रक्रिया अघि बढाउने, मृतकका परिवारका एक–एक जना योग्य सदस्यलाई रोजगारीको अवसर उपलब्ध गराउने, छानबिन समितिको प्रतिवेदन कार्यान्वयन गर्ने तथा मृतकहरूको सम्झनामा स्मृति पार्क निर्माण गर्ने उल्लेख छ ।

सम्झौता पत्रमा पीडित पक्षका तर्फबाट ओमप्रकाश मेहताका बुवा कृष्णदेव मेहता र जयप्रकाश मेहताको तर्फबाट नरेश मेहताले हस्ताक्षर गरेका छन् भने सरकारका तर्फबाट गृहमन्त्री सुधन गुरुङको हस्ताक्षर रहेको छ । सहमति पत्रमा दुवै मृतकको अन्त्येष्टि शुक्रवार दिउँसो २ बजे गरिने उल्लेख गरिएको छ ।

सिरहा घटनामा पनि सहमति हुनुपर्ने अडान

देवानगञ्ज घटनाको विषयलाई लिएर सुनसरीका विभिन्न स्थानमा विरोध प्रदर्शन र हिंसा भड्किएका थियो । हिंसा भड्किएपछि सुनसरीको ९ वटा स्थानीय तहमा कर्फ्यु लगाइएको छ ।

सुनसरीमा कर्फ्यु जारी भएपछि घटनाको विरोधमा सिराहाको गोल बजारमा भएको प्रदर्शनका क्रममा प्रहरीले गोली चलाउँदा स्थानीय गणेश यादवको हिजो मृत्यु भएको छ । यादवका परिवारसँग पनि गृहमन्त्रीले सम्झौता गर्नु पर्ने माग राख्दै शव बुझ्न अवरोध भएको प्रहरीले जनाएको छ । गृहमन्त्रीले सिराहा गोली काण्डका पीडितसँग पनि सम्झौता गर्नु पर्ने अडान लिएपछि शव बुझ्न अवरोध भएको हो ।

देवानगञ्ज गाउँपालिकाका अध्यक्ष बेचन मेहताले पनि गृहमन्त्री सुधन गुरुङप्रति असन्तुष्टि जनाएका छन् । गोली काण्डपछि घटनास्थल पुगेका गृहमन्त्रीले स्थानीय तहसँग आवश्यक समन्वय नगरी बैठक र छलफल गरेको भन्दै उनले सार्वजनिक रूपमा असन्तुष्टि व्यक्त गरेका हुन् ।

सङ्कटका बेला स्थानीय जनप्रतिनिधिसँग समन्वय गरेर अघि बढ्नुपर्नेमा स्थानीय सरकारलाई बेवास्ता गरिएको उनको आरोप छ । कप्तानगञ्जमा सशस्त्रले चलाएको गोली लागेर १० जना युवा घाइते भएका थिए ।

तीमध्ये दुई जनाको मृत्यु भइसकेको छ भने अन्य आठ जनाको उपचार भइरहेको छ । घटनाका क्रममा सुरक्षाकर्मीसहित २२ जनाभन्दा बढी व्यक्ति घाइते भएको बताइन्छ ।

गोली काण्डपछि सोमबार र मङ्गलवार सुनसरीका विभिन्न स्थानमा आगजनी, तोडफोड, लुटपाट तथा व्यक्ति लक्षित आक्रमणका घटना भएका थिए ।

स्थानीय प्रशासनले कर्फ्यु आदेश जारी गरे पनि प्रदर्शनसँगै हिंसा फैलिँदा जिल्लाका विभिन्न क्षेत्र तनावग्रस्त बनेका थिए । बुधवार देखी सुनसरीको अवस्था केही मत्थर भए पनि त्यसको प्रभाव मधेस प्रदेशसम्म पुगेको छ ।