साफ च्याम्पियन्सीप: श्रीलंकालाई हराउँदै नेपाल शीर्षस्थानमा
काठमाडौं - नेपालले साफ च्याम्पियनसिपमा लगातार दोस्रो जित हात पारेको छ । सोमबार राति माल्दिभ्सको मालेमा जारी साफ च्याम्पियनसिपको दोस्रो खेलमा नेपालले श्रीलंकालाई ३-२ले पराजित गरेको हो ।
खेलको ३३औँ मिनेटमा मिडफिल्डर सुमन लामाले गोल गर्दै नेपाललाई सुरुवाती अग्रता दिलाएका थिए । सुमनले नवयुग श्रेष्ठको पास सदुपयोग गर्दै सिक्स यार्ड बक्सबाट उत्कृष्ट गोल गरेका थिए ।
दोस्रो हाफको ५१औँँ मिनेटमा अञ्जन विष्टले गोल गर्दै नेपालको अग्रता दोब्बर पारे । त्यसपछि ५७औँ मिनेटमा मार्भिन हमिल्टनले गोल गर्दै श्रीलंकालाई खेलमा फर्काउने कोसिस गरेपनि खेल सकिन ४ मिनेट बाँकी रहँदा आयुष घलानले गोल गर्दै नेपाललाई ३-१को अग्रता दिलाए ।
त्यसपछि खेलको इञ्ज्युरी समयमा डिलो डि सिल्भाले पेनाल्टीमा गोल गर्दै ३-२को अवस्थामा ल्याएपनि थप गोल हुन नसक्दा नेपाल विजयी बन्यो । नेपाल २ खेलमा ६ अंक बनाएर तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । बंगलादेश २ खेलमा ४ अंक जोड्दै दोस्रो स्थानमा छ ।
यसअघि पहिलो खेलमा नेपालले माल्दिभ्सलाई १–० गोल अन्तरले पराजित गरेको थियो । आज नै भएको पहिलो खेलमा बंगलादेश र भारतले १–१ गोलको बराबरी खेल्दै अंक बाढेका छन् ।

.gif)



फेसबुक पेज Like गर्नुहोस