काठमाडौं - नेपाल बार एसोसिएसनको बहिष्कारका कारण प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले समेत आइतबार मुद्दा सुनुवाइ गर्न सकेनन् । 

न्यायाधीश र नेपाल बारको विरोधका बाबजुद बुधबार इजलासमा बसेर मुद्दा सुनुवाइ गरेका जबराको इजलासमा कुनै पनि कानुन व्यवसायी बहसका लागि उपस्थित नभएपछि उनको इजलासमा पनि मुद्दा सुनुवाइ हुन नसकेको हो । 

जबराले आफ्नो इजलासमा दुईवटा मुद्दा सुनुवाइका लागि पेसी तोकेका थिए । बार र न्यायाधीशको आन्दोलनका कारण बन्दीप्रत्यक्षीकरणका मुद्दासमेत अलपत्र परेका छन् । आन्दोलनरत न्यायाधीशहरूले आइतबारबाट बन्दीप्रत्यक्षीकरणको मुद्दा सुनुवाइ गर्ने बताए पनि बन्दीका रिट सुनुवाइ गर्न न्यायाधीशहरू इजलास गएनन् ।

प्रधानन्यायाधीश जबराले उपस्थित सबै न्यायाधीशका लागि कललिस्ट (मुद्दा सुनुवाइको सूची) सार्वजनिक गरेका थिए । 

न्यायाधीश कुमार रेग्मीको इजलासमा एउटा र न्यायाधीशद्वय आनन्दमोहन भट्टराई र अनिलकुमार सिन्हाको संयुक्त इजलासमा बैंकिङ कसुर अभियोगमा कारागारमा रहेका कमल ज्ञवालीको बन्दीप्रत्यक्षीकरण रिटको पेसी तोकिएको थियो । 

न्यायाधीशद्वय हरिकृष्ण कार्की र सपना प्रधान मल्लको इजलासमा समेत एउटा बन्दीका रिट सुनुवाइका लागि तोकिएको थियो । तर न्यायाधीशहरू यी सबैै निवेदनमा सुनुवाइका लागि इजलास गएनन् ।