कोरोनाबाट विश्वभर ६ लाख ५४ हजारको मृत्यु
एजेन्सी - विश्वभर महामारीका रुपमा फैलिएको कोरोना भाइरसका कारण ६ लाख ५४ हजारभन्दा बढीको मृत्यु भएको छ । विश्व स्वास्थ्य संगठनकाअनुसार विश्वभर कूल संक्रमित करिब १ करोड ६६ लाखमध्ये करिब १ करोड २ लाख व्यक्ति कोरोनाको संक्रमणबाट मुक्त भएका छन् । अझै पनि करिब ६६ हजार व्यक्ति गम्भीर अवस्थामा उपचार गराइरहेका छन् ।
कोरोना भाइरस फैलिन नदिन सोमबार विश्वका विभिन्न मुलुकमा कडा नियमहरु घोषणा गरिए पनि कोरोना संक्रमितको संख्या निरन्तर बढेको देखिएको छ ।
युरोपेली मुलुकहरुले पहिलो चरणमा गरिएका लकडाउनका कारण सिर्जित आर्थिक क्षतिको पुनरुत्थान गर्न होसियारीपूर्वक कदमहरु चाल्न थालेका छन् । यी देशमा पर्यटन क्षेत्र खुला गर्न थालिएको छ, तर कोरोनाको दोस्रो लहर उत्पन्न हुन नदिन विशेष सावधानी अपनाइएको छ ।
स्पेनको पर्यटन उद्योगले नयाँ चुनौतीको सामना गर्नु परेको छ । बेलायत सरकारले स्पेन भ्रमण गर्ने बेलायती हरेक पर्यटकले स्वदेश फर्किएपछि अनिवार्य रुपमा क्वारेन्टाइनमा बस्नुपर्ने नियम जारी गरेको छ । यसबाट धेरै बेलायती पर्यटक र टुर अपरेटर्सले बेलायतीहरुको भ्रमण रद्द गरेका छन् । हङकङमा कोरोना भाइरसको नयाँ संक्रमण शृंखला शुरु भएपछि सार्वजनिक स्थलमा अनिवार्य रुपमा मास्क लगाउन आदेश दिएको छ । बेल्जियमले पनि सामाजिक दूरीका नियममा कडाई गर्न थालेको छ ।
यसैबीच, अमेरिकामा ह्वाइट हाउसले राष्ट्रपति डोनल्ड ट्रम्पका राष्ट्रिय सुरक्षा सल्लाहकार रोबर्ट ओ–ब्रायनलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको जनाएको छ । सोमबार साँझसम्म, विश्वमै सबैभन्दा बढी कोरोना संक्रमित देखिएको संयुक्तराज्य अमेरिकामा थप ५७ हजार व्यक्ति पोजेटिभ देखिएका छन् ।
जोन्स हप्किन्स विश्वविद्यालयको विवरणअनुसार संयुक्तराज्य अमेरिकामा कोरोना संक्रमितमध्ये एक लाख ४७ हजार ५८८ जनाको मृत्यु भएको छ ।
विश्व स्वास्थ्य संगठनले भने देशहरुका सीमाहरु बन्द गर्न जरुरी नरहेको बताएको छ । डब्लुएचओका आपतकालीन निर्देशक माइकल रायनले भने, 'विश्वको अर्थतन्त्रका लागि, विश्वका गरिबका लागि यो दिगो रणनीति होइन ।' उनले सबै मुलुकमा कोरोना भाइरस विभिन्न शैलीमा फैलिने गरेकाले पनि सबै मुलुकलाई एकै ठाउँमा राख्न नहुने बताएका छन् ।

.gif)



फेसबुक पेज Like गर्नुहोस