काठमाडौं - नेपाल सरकारले कोरोना भाइरस विरुद्धको खोपको व्यवस्थापनका लागि सातवटै प्रदेशमा संयोजक तोकेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड खोप अभियान सञ्चालनलाई व्यवस्थित बनाउन र खोपको उचित व्यवस्थापनका लागि महाशाखा प्रमुखलाई संयोजकको जिम्मेवारी तोकेको हो ।

मन्त्रालयका अनुसार खोप व्यवस्थापनका लागि प्रदेश १ को जिम्मेवारी डा तारानाथ पोखरेललाई दिइएको छ भने डा मदनकुमार उपाध्यायलाई प्रदेश २ को जिम्मेवारी दिइएको छ ।

यस्तै बागमती प्रदेशमा डा गुणराज लोहनी, गण्डकी प्रदेशमा डा जागेश्वर गौतम, लुम्बिनी प्रदेशमा डा विकास देवकोटा, कर्णाली प्रदेशमा डा अनुज भट्टचन र सुदूरपश्चिम प्रदेशमा डा कृष्ण पौडेललाई संयोजक तोकिएको छ ।

उनीहरुलाई सम्बन्धित प्रदेशमा खोप अभियानका लागि तयारी, खोप लगाउने व्यक्त्तिको नामावली, तयारीका क्रममा हुने समस्या समाधानका लागि सहजीकरण गर्नेलगायतको जिम्मेवारी दिइएको मन्त्रालयले जनाएको छ ।

भारत सरकारले नेपाललाई बिहीबार १० लाख डोज कोभिड खोप उपलब्ध गराएको थियो । १४ गतेदेखि सातै प्रदेशमा खोप अभियान सुरु गर्ने सरकारले तयारी गरेको छ ।