काठमाडौं - युक्रेनका राष्ट्रपति बोलोदिमीर जेलिनस्कीकी पत्नी ओलेना जेलिन्स्कालाई कोरोना संक्रमण पुष्टि भएको छ।

पत्निलाई कोरोना पुष्टि भएलगत्तै राष्ट्रपतिले आफ्ना सबै बैठक रद्द गरेका छन्। शुक्रबार ओलेनामा कोरोना पोजेटिभ देखिएको थियो। तर उनका पति र दुई बच्चालाई भने देखिएको छैन।

ओलेनाले आफू स्वस्थ रहेको र हाल अस्पतालमा भर्ना नभएको बताएकी छन्। तर केही समय परिवारभन्दा पर रहने उनले बताइन्।

  राष्ट्रपतिका प्रवक्ताले आउने दिनमा सबै बैठक, सार्वजनिक कार्यक्रम र राजधानी बाहिरबाट आएका सबै प्रस्ताव हालका लागि रद्द गरिएको जनाएका छन्। 

युक्रेनमा हालसम्म २८ हजार ७ सय ५३ जनामा काेरोना संक्रमण देखिएकाे छ भने ८ सय ७० जनाकाे मृत्यु भएकाे छ।