काठमाडौं -  हरेक साउन शुक्ल पञ्चमीका दिन नागस्थानमा दूध, दुबो, जल चढाएर धूपधुवाँर गर्दै नाग पञ्चमी पर्व मनाउने परम्परा रहँदै आएको छ ।

नाग पूजन गर्दा सर्प र बिच्छीलगायत जीवले दुःख नदिनाका साथै अग्नि, मेघ र चट्याङको भयबाट पनि बच्न सकिन्छ भन्ने धार्मिक विश्वास छ ।

नाग पञ्चमीका दिन नागको तस्बिरलाई घरको मूल प्रवेशद्वारमा टाँसेर अर्चना गर्दै यी नागप्रति श्रद्धा व्यक्त गर्ने प्रचलन छ ।

नाग पूजाको प्रचलन वैदिक कालदेखि नै शुरु भएको हो । वैदिक मान्यतानुसार नागलाई सर्पको राजा मानिन्छ । नाग रिसाए भने पानीको अभाव हुने भएकाले पानीका लागि पनि नागलाई खुशी पार्न पूजा गर्ने परम्परा बसेको हो ।

वराहपुराणमा उल्लेख भएअनुसार यसै तिथिमा नागराजसँग ब्रह्माको संवाद भएकाले पनि आजको दिन नागपूजाका लागि प्रसिद्ध मानिन्छ । शास्त्रमा अनन्त, वासुकी, तक्षक, कुलिर, कर्कोटक, शङ्ख, पद्म, महापद्म गरी आठ नागको विशेष महìव रहेको वर्णित छ ।

काठमाडौँ उपत्यकामा भचाखुसीस्थित घोडेनाग, गल्कोपाखा ठमेलको हरिनाग, टुँडिखेल सुन्धारा छेउको मीननाग, इटुम्बहालको जलनाग, टेकुको टेकुनाग, थानकोटको नागढुङ्गा, धापाखेलको नागदह, चोभारपारि टौदह, नक्साल नागपोखरी र चाँगुनारायण नगरपालिका वडा नं. ८, कलमसीस्थित कल्पेश्वर नागमा विशेष रूपमा पूजाअर्चना गर्ने प्रचलन छ ।