काठमाडौं - पोर्चुगिज सुपरस्टार क्रिस्टियानो रोनाल्डोले पत्रकार सम्मेलनका क्रममा टेबलमा रहेका दुई वटा कोकाकोलाका बोतल हटाउँदा त्यसको असर पुरै कोका–कोला कम्पनीमा परेको छ ।

हङ्गेरीसँगको खेल हुनु भन्दा पहिले पत्रकारसँग कुराकानी गर्नेक्रममा रोनाल्डोको अगाडि कोल्ड ड्रिङ्क बनाउने कम्पनी कोका–कोलाको दुई वटा बोत्तल राखिएको थियो । तर, रोनाल्डोले कोका–कोलाको दुई वटै बोत्तल हटाइदिए । उनले नजिकै रहेको पानीको बोत्तल कोका–कोलाको ठाउँमा राखे । सफ्ट ड्रिङ्कको सट्टा पानीको प्रयोग गर्नुपर्ने रोनाल्डोले सङ्केत गरेका थिए ।

त्यसको सिधा असर कोकाकोलाको बजार मूल्यमा परेको छ । रोनाल्डोको कारण अमेरिकन पेय पदार्थ कोकाकोलाको सेयर मूल्यमा ४ बिलियन डलर गिरावट आएको छ।

कोकको शेयर मूल्य १.६ प्रतिशतले घटेर ५५.४४ डलरमा आएको छ भने बजार मूल्य २४२ बिलियन डलरबाट घटेर २३८ बिलियन डलरमा आइपुगेको अन्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । कोका–कोला युरो कपको प्रायोजकमध्ये एक कम्पनी हो ।

रोनाल्डो आफ्नो स्वास्थ्यप्रति निकै सजग रहन्छन् र आफ्नो छोरालाई पनि पेय पदार्थबाट टाढा राख्ने प्रयास गरिरहेको उनले बताउँदै आएका छन् ।  यस्तै, कोकले विज्ञप्ती जारी सबैले आफ्नो पेय पदार्थको प्राथमिकता छनोट सक्ने बताएको छ ।