काठमाडौं - फुटको औपचारिक घोषणा हुन मात्र बाँकी रहेको जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतो पक्षका सांसदहरु उपेन्द्र पक्षमा जान थालेका छन् ।

शेरबहादुर देउवा नेतृत्वको गठबन्धन सरकारमा उपेन्द्र पक्ष सहभागी हुने भएपछि त्यसको असर जसपाभित्रको समीकरणमा देखिएको छ । शनिबार महन्थ पक्षका पाँचजना सांसदहरु उनलाई छाडेर उपेन्द्र पक्षमा पुगेका छन् । उनीहरु शनिबार उपेन्द्र पक्षको संसदीय दलको अनौपचारिक बैठकमै सहभागी भएका छन् ।

महन्थ पक्षमा रहेका सांसदहरु प्रमोद साह, रुही नाज, अमृता अग्रहरि, रानी मण्डल र नरमाया ढकाल आफ्नो पक्षको बैठकमा सहभागी भएको उपेन्द्र पक्षका नेता मोहम्मद इस्तियाक राईले बताए । उनले थप केही सांसद पनि आउने क्रममा रहेको बताए । जसपाको केन्द्रीय कार्यकारिणी समितिमा बहुमतमा रहेको उपेन्द्र पक्षले निर्वाचन आयोगको विवाद सुल्झिनुअघि संसदीय दलमा पनि आफ्नो बहुमत पुर्‍याउने तयारी गरिरहेको छ ।