गभर्नर नियुक्ति चाँडै हुन्छ : प्रवक्ता गुरुङ
काठमाडौं - सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले चाँडोभन्दा चाँडो गभर्नर नियुक्ति हुने बताएका छन् ।
बिहीबार मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले यस्तो बताएका हुन् ।
सरकारका प्रवक्ता समेत रहेका मन्त्री गुरुङले गभर्नर नियुक्तिको समस्या समाधानका लागि सत्ता साझेदार दलका प्रमुख नेताहरूबीच सहमति भएकाले चाँडै नियुक्त हुने बताए ।
उनले भने,‘हिजोमात्रै दुईजना पार्टीका महत्त्वपूर्ण व्यक्तिहरू नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच वार्ता भएर समस्याको समाधान गर्ने भनेर उहाँहरूले सहमति गर्नुभएको छ । आज संयन्त्रको बैठकले नीतिगत मार्गदर्शन गर्नेछ भन्ने विश्वास लागेको छ ।’
गभर्नरजस्तो महत्त्वपूर्ण पदमा सबै दलको चासो हुनु स्वभाविक भएको पनि उनले बताए । गभर्नर नियुक्ति ढिला भएको बताउँदै उनले चाँडोभन्दा चाँडो नियुक्त गर्ने बताएका थिए ।
फेसबुक पेज Like गर्नुहोस