काठमाडौं,एजेन्सी - उरुग्वे कोपा अमेरिका फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

शुक्रबार बिहान भएको समूह चरणको खेलमा बोलिभियालाई २-० गोल अन्तरले पराजित गर्दै उरुग्वे क्वाटरफाइनलमा प्रवेश गरेको हो ।

उरुग्वेको जितमा एडिन्सन काभानीले एक गोल गरे । एक गोल आत्मघाती उपहार पाएको थियो । खेलको ४० औं मिनेटमा बोलिभियाका कार्लोस लाम्पेको आत्मघाती गोलबाट उरुग्वेले सुरुवाती अग्रता बनाएको थियो । त्यसपछि खेलको ७९ औं मिनेटमा काभानीले गोल गर्दै उरुग्वेलाई २-० को जित दिलाए ।

यस जितसँगै उरुग्वेले ३ खेलमा ४ अंक जोडेको छ । समूह ‘ए’को उरुग्वे चौंथो स्थानमा रहेको छ । बोलिभिया अंक विहीन रहदै पुछारमा रहेको छ । यस्तै, पाराग्वेले चिलीलाई पराजित गरेको छ । बिहीबार बिहान भएको खेलमा पाराग्वेले चिलीलाई २-० गोल अन्तरले पराजित गरेको हो । पाराग्वेलाई जित दिलाउन सामु र मिगुएल अल्मिरोनले एक एक गोल गरे ।

खेलको ३३ औं मिनेटमा सामुले गोल गर्दै पाराग्वेलाई सुरुवाती अग्रता दिलाएका थिए । त्यसपछि खेलको ५८ औं मिनेटमा मिगुएलले पेनाल्टीमा गोल गर्दै पाराग्वेलाई २-० को जित दिलाए । जितसँगै समूह ‘ए’को पाराग्वेले ३ खेलमा ६ अंक जोडेको छ । पाराग्वे समूहको दोस्रो स्थानमा उक्लिएको छ ।

पाराग्वे यस अघि नै क्वाटरफाइनलमा प्रवेश गरेको छ । चिलीले ४ खेलमा ५ अंक जोडेको छ । तेस्रो स्थानको चिलीले यस अघि नै क्वाटरफाइनलमा स्थान बनाईसकेको छ ।