काठमाडौं - म्यानमारमा सैनिक ‘कू’ भएको छ । सेनाको टेलिभिजनले एक वर्षको निम्ति सङ्कटकाल घोषणा गरिएको जनाएको छ।

सन् २०११ मा प्रजातान्त्रिक सुधार अघिसम्म बर्मा भनेर परिचित म्यानमारमा सेनाले शासन गर्दै आएको थियो।गत नोभेम्बर महिनामा भएको चुनावमा सू चीको पार्टी न्याश्नल लिग फर डेमोक्रेसी (एनएलडी) ले सरकार गठन गर्ने बहमुत प्राप्त गरेको थियो । सेनाले उक्त चुनावमा धाँधली भएको आरोप लगाउँदै आएको छ।

नयाँ निर्वाचित तल्ल सदनको पहिलो बैठक पहिलो पटक आज बस्ने योजना थियो। तर सेनाले उक्त बैठक अहिलेलाई स्थगित गर्न माग गर्दै आएको थियो।

सोमबार बिहान राष्ट्रपति वुइन मीयन र सत्तारुढ पार्टी नेशनल लिग फर डेमोक्रेसीकी नेतृ आङसाङ सुकी लाई सेनाले नियन्त्रणमा लिएको थियो । राजधानीमा टेलिफोन र इन्टरनेट सेवा बन्द गरिएको छ। सेनाले थुप्रै ठाउँहरूमा मुख्य मन्त्रीका घरहरूमा पनि पुगेर उनीहरूलाई लगेको परिवारका सदस्यहरूले बताएका छन्।