काठमाडौं - निर्वाचन आयोगले स्थानीय तह निर्वाचन–२०७९ का लागि मतदाता नामावलीको अन्तिम सूची आज प्रकाशन गर्ने भएको छ। 

आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलका अनुसार मतदाता नामावलीमा दाबी विरोधपछि मतदानका लागि योग्य मतदाताको सूची प्रकाशन गर्न लागिएको हो ।

आयोगले वडा, पालिका र निर्वाचन कार्यालयसँगको समन्वयमा नाम दोहोरिएको, मृत्यु भएका वा नागरिकता त्याग गरेका, झुटा विवरण दिई नामावलीमा नाम समावेश गरेको भए विरोधमा उजुरी दिन आह्वान गरेको थियो । उक्त दाबी विरोधपछि करिब एक लाख मतदाता सूचीबाट हटेको प्रवक्ता शर्माको भनाई छ । 

अन्तिम नामावली प्रकाशनसँगै मतपत्र छपाइ सुरु हुनेछ । करिब २ करोड मतपत्र छाप्ने तयारी गरेको आयोगले छपाइकाे काम जनक शिक्षा सामग्री लिमिटेडबाट गर्ने निर्णय गरिसकेको छ। स्थानीय तहको निर्वाचन आगामी वैशाख ३० गते हुँदैछ।