सञ्चार माध्यमलाई राष्ट्रिय सेवामूलक उद्योगको मान्यता दिइने छ : प्रधानमन्त्री दाहाल
काठमाडौं - प्रधानमन्त्री पुष्पकमल दाहालले सञ्चारमाध्यमलाई राष्ट्रिय सेवामुलक उद्योग सरह मान्यता दिई संरक्षण र संवद्र्धन गर्ने सरकारको नीति रहेको बताएका छन् ।
मंगलबार नेपाल टेलिभिजनको ३८ औँ वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले सञ्चार माध्यमको व्यवसायिक र संस्थागत विकासका लागि सञ्चारमाध्यमलाई राष्ट्रिय सेवामूलक उद्योग सरह मान्यता दिई संरक्षण र संवद्र्धन गर्ने सरकारको नीति रहेको स्पष्ट पारेका हुन् ।
उहाँले सरकार विचार तथा अभिव्यक्ति स्वतन्त्रता, सूचनाको हक र प्रेस स्वतन्त्रताको ग्यारेन्टी गर्न प्रतिवद्ध रहेको बताए । उनले आम सञ्चार माध्यममा सबै वर्ग, क्षेत्र, जाति, भाषा, समुदायको पहुँच बढाउने गरी समावेशी लोकतान्त्रिक सूचना तथा सञ्चार नीति जारी गरिने पनि उल्लेख गरे। प्रधानमन्त्री दाहालले सरकार आमसञ्चार प्रशिक्षण प्रतिष्ठान स्थापना गर्न प्रतिवद्ध रहेको बताए । उनले पत्रकार र सञ्चारमाध्यमहरुको पेशागत र भौतिक सुरक्षाको प्रत्याभुति गरिने बताए। त्यस्तै, पत्रकारहरुको स्वास्थ्य तथा दुर्घटना बीमाको व्यवस्था गरिने पनि उनले उल्लेख गर।
प्रधानमन्त्री दाहालले श्रमजीवि पत्रकारका लागि निर्मित कानूनहरुको प्रभावकारी कार्यान्वयन गरिने र सूचनाको हक प्रदान गर्ने कुरा राज्यको दायित्वको रुपमा स्थापित गरिने बताए । उनले वर्तमान सरकार सामाजिक न्याय, सुशासन र समृद्धिको प्राथमिकता निर्धारण गरेर अगाडी बढेको उल्लेख गरे ।
लोकतन्त्रको सुदृढिकरण, संविधानको रक्षा, अर्थतन्त्रको सुधार र जनसेवा सरकारको प्रमुख कार्यभार रहेको उल्लेख गर्दै प्रधानमन्त्री दाहालले सरकारको कार्यभारलाई व्यवस्थित रुपले संप्रेषण गर्न आग्रह गरे ।

.gif)



फेसबुक पेज Like गर्नुहोस