काठमाडौं - देशभर मनसुनअघि नै औसतभन्दा बढी वर्षा हुन थालेपछि कृषि विभागले किसानलाई भण्डारण गरिएका अन्नबाली तथा खेतमा रहेका उत्पादन जोगाउन विशेष सावधानी अपनाउन आग्रह गरेको छ ।

विभागका अनुसार पछिल्ला दिनमा मौसममा आएको फेरबदलका कारण भण्डारण गरिएका अन्न, दाल तथा अन्य खाद्य वस्तुमा चिस्यान बढ्ने जोखिम देखिएको छ ।

यसले बाली कुहिने, गुणस्तर घट्ने तथा कीराको संक्रमण फैलिने सम्भावना रहेकाले किसानलाई नियमित निगरानी गर्न सुझाव दिइएको छ ।

विभागले भण्डारण गरिएका खाद्यवस्तुको नियमित अनुगमन गर्न र पाकेका बाली लामो समय खेतमै नछाड्न आग्रह गरेको छ ।

आगामी सातादेखि मध्याह्नपछि हावाहुरी, चट्याङ र असिना पर्ने सम्भावना रहने भएकाले बजार लैजानुपर्ने फलफूल तथा तरकारी बिहान शीत ओभाएपछि मात्रै टिप्न किसानलाई परामर्श दिइएको छ ।

कृषि विभागका महानिर्देशक प्रकाशकुमार सञ्जेलका अनुसार किसानलाई उत्पादन वृद्धि, बाली संरक्षण, बजारीकरण तथा जोखिम न्यूनीकरणसम्बन्धी प्राविधिक सल्लाह निरन्तर उपलब्ध गराइँदै आएको छ ।

कृषि तथा पशुपन्छी विकास मन्त्रालयअन्तर्गतको कृषि सूचना केन्द्रले पनि मौसमअनुसार हावापानी, प्रकोप र बाली संरक्षणसम्बन्धी सूचना किसानसम्म पुर्‍याइरहेको जनाएको छ ।

केन्द्रका अधिकृत सन्जीव पण्डितले भण्डारणमा राखिएका अन्नलाई कीराबाट जोगाउन भकारीको माथिल्लो भागमा छहारीमा सुकाइएका नीम, बकाइनो र तितेपातीका पात राख्न सुझाव दिएका छन् । यस्ता प्राकृतिक उपायले भण्डारणमा हुने क्षति कम गर्न मद्दत पुग्ने उनको भनाइ छ ।

यस्तै, आलु भण्डारण गर्दा विशेष सावधानी अपनाउन पनि केन्द्रले आग्रह गरेको छ । ‘आलुको पुतली’ अर्थात् जोताहा कीराले भण्डारणमा ठूलो क्षति पुर्‍याउन सक्ने भएकाले आलु खनेपछि लामो समय खेतमै थुपारेर नराख्न चेतावनी दिइएको छ ।