काठमाडौं - टोकियो ओलम्पिक अन्तरगतको पुरुष फुटबलमा ब्राजिलले सानदार विजयी सुरुवात गरेको छ । बिहीबार भएको खेलमा ब्राजिलको यु–२३ टोलीले १० खेलाडीमा समेटिएको जर्मनीको यु–२३ टोलीमाथि ४–२ को जित निकालेको हो ।

ब्राजिलको जितमा रिचार्लीसनले ह्याट्रिक गरे । यस्तै पाउलिन्होले एक गोल गरे । जर्मनीका लागि नादिम एमिरी र राग्नर एचेले एकएक गोल फर्काए । रिचार्लीसनले खेलको ३० मिनेटभित्र नै ह्याट्रिक पुरा गरेका हुन् । खेलको सातौं मिनेटमा रिचार्लीसनले गोल गर्दै ब्राजिललाई अग्रता दिलाएका थिए । त्यसपछि रिचार्लीसनले २२औं मिनेटमा दोस्रो तथा ३०औं मिनेटमा ह्याट्रिक पुरा गरे । 

५७औं मिनेटमा अमिरीले गोल गर्दै जर्मनीलाई ३-१ को स्थितिमा फर्काए । खेलको ८३ औं मिनेटमा राग्नरले गोल गर्दै जर्मनीलाई खेलमा फर्काउने कोसिस गरे पनि इन्ज्युरी समयमा पाउलिन्होले गोल गर्दै ब्राजिललाई ४–२ को सहज जित दिलाए । जितसँगै ब्राजिल समूह ‘डी’ मा ३ अंक जोडेर शीर्षस्थानमा रहेको छ । अंकविहीन जर्मनी तेस्रो स्थानमा छ ।