काठमाडौं - प्रधानमन्त्री शेरबहादुर देउवाले सर्वदलीय बैठक आह्वान गरेका छन् । 

भोलि (बिहीबार) बिहान १० बजे प्रधानमन्त्री निवास बालुवाटारमा देउवाले सर्वदलीय बैठक बोलाएका उनका प्रेस सहयोगी गोविन्द परियारले जानकारी दिए । 

परियारका अनुसार संसद् अवरोध र पछिल्लो समसामयिक राजनीतिक घटनाबारे छलफल गर्न प्रधानमन्त्रीले बैठक बोलाएका हुन् । 

संसद्‌मा प्रतिनिधित्व गरिरहेका नेपाली कांग्रेस, नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी (जसपा)लगायत सबै दललाई बैठकमा बोलाइएको छ ।

यसअघि पनि सभामुख अग्निप्रसाद सापकोटाले प्रतिनिधिसभा बैठकको गतिरोध अन्त्यका लागि बैठक बोलाएका थिए । तर, उक्त बैठकमा एमाले अध्यक्ष केपी शर्मा ओली उपस्थित भएका थिएनन् । 

संघीय संसद्का दुवै सदन एमालेले दैनिक अवरुद्ध गरिरहेका बेला प्रधानमन्त्री देउवाले सर्वदलीय बैठक बोलाएका हुन् ।  एमालेले १४ जना सांसदलाई कारवाहीको माग गर्दै लगातार संसद बैठक अवरुद्ध गरिरहेको छ ।