काठमाडौं - सोमबार बसेकाे मन्त्रिपरिषदको वैठकले आधा दर्जन बढी नियुक्ति गरेकाे छ ।

वैठकले विभिन्न पदाधिकारी एवं कार्यकारी पदमा नियुक्ति गरेको छ । नेपाल प्रहरीका डीआईजीद्वय प्रधुम्न कार्की र निरज शाही एआईजीमा बढुवा गर्ने निर्णय गरेकाे छ ।

साथै बैठकले सहसचिव मधुकुमार मरासिनीलाई सचिवमा बढुवा गर्ने निर्णय गरेकाे छ । वैठकले केही महिना देखि रिक्त्त रहेकाे रेडियो नेपालको महाप्रवन्धकमा बुद्धिबहादुर कार्कीलाई नियुक्त् गर्ने निर्णय समेत गरेकाे छ ।

त्यस्तै, महिला, बालबालिका मन्त्रालयको प्रस्तावमा मन्त्रिपरिषदले समाज कल्याण परिषदमा रिक्त उपाध्यक्षमा डा.पदम खतिवडा र सदस्य सचिवमा दोलखाका पुष्कर खातीलाई नियुक्त गर्ने निर्णय भएको छ । 

राखेपको सदस्य सचिव पदमा पुनः रमेशकुमार सिलवाल र उपाध्यक्षमा शिव कोइरालाई नियुक्त गरिएकाे छ ।सिलवाललाई चार वर्षका लागि राखेप सदस्य सचिवमा नियुक्त गरिएको हो । नयाँ खेलकुद विकास ऐन २०७७ कार्यान्वयनपछि स्वत खारेज भएको सदस्य सचिवको पदमा पहिलो पटक छनोटका आधारमा सिलवाल पुनःनियुक्त भएका हुन् ।

राखेपमा पहिलो पटक खुला आह्वानद्वारा भनेर नेकपा निकट सिलवाललाई नै पुनः सदस्य सचिवको नियुक्ति गरिएकाे हो । 

युवा तथा खेलकुद मन्त्रालयका सचिव रामप्रसाद थपलिया, राखेपकी पूर्वसदस्य इन्दिरा निरौला र राखेपका पूर्वअधिकृत रिम रानाभाट सदस्य रहेको समितिले सिलवासहित राष्ट्रिय महिला भलिबल टोलीकी पूर्वकप्तान अन्जु श्रेष्ठ र नेपाल भलिबल सङ्घका पूर्वउपाध्यक्ष लिलबहादुर थापाको नाम सिफारिस गरेको थियो ।