काठमाडौैं - ब्राजिल कोपा अमेरिका फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । शनिबार बिहान भएको क्वाटरफाइनल खेलमा चिलीलाई १-०ले पराजित गर्दै १० खेलाडीमा समेटिएको ब्राजिलले अन्तिम चारको यात्रा तय गरेको हो । 

ब्राजिलको जितमा लुकास प्याक्वेटा नायक बने । खेलको ४६औँ मिनेटमा नेयमारको पासमा उनले गरेको गोल नै ब्राजिलको जितको लागि पर्याप्त बन्यो । त्यसको २ मिनेटमै ब्राजिल १० खेलाडीमा समेटिन पुग्यो ।

चिलीका इग्युनियो मिनालाई खराब ट्याकल गरेपछि ग्राबियल जेसस सिधै रातो कार्ड खाँदै मैदानबाट बाहिरिएका थिए । त्यसपछि चिलीले निरन्तर आक्रमण बुने पनि गोल गर्न असफल भयो । अब आयोजक ब्राजिलले सेमिफाईनलमा पेरुसंग खेल्नेछ ।