अष्ट्रेलियामा घरधनीहरूले भाडा घटाउनै पर्ने
काठमाडौं - अष्ट्रेलियामा घरधनीहरूले भाडा घटाउनै पर्ने गरी कानुन बनाएर लागू गरिने भएको छ । प्रधानमन्त्री स्कट मोरिसनले मंगलबार क्यानबेरामा भएको पत्रकार सम्मेलनमा उक्त कुराको घोषणा गरेका हुन् ।
कोरोना भाइरस (कोभिड– १९) को सङ्क्रमणका कारण आर्थिक गतिविधि ठप्प भइरहेको बेला साना तथा मझौला व्यापारीहरूलाई राहत दिने गरी प्रधानमन्त्री मोरिसनले उक्त घोषणा गरेका हुन् ।
उनले त्यस्ता खालका व्यापारीहरुले कम घर भाडा तिरे पनि हुने र यस्तो बखतमा घरधनीले सम्झौता उल्लङ्घन हुन नदिने तथा धरौटी जफत पनि नहुने खालको नयाँ आचार संहिता बनाउन लागेको घोषणा गरेका हुन् । मोरिसनले गरेको घोषणा अनुसार राज्य तथा प्रादेशिक सरकारहरूले आ–आफ्ना क्षेत्राधिकारमा रहेका घरधनीहरूले भाडा घटाउनै पर्ने गरी उक्त आचार संहिता अनुरूपको कानुन बनाएर लागू गर्नेछन् ।
यससँगै व्यावसायिक रूपमा घर भाडा घटाउन घरधनीहरूले भाडा दरमा छुट र स्थगनको बाटो लिनुपर्नेछ । हाललाई यो सुविधा जबकीपर कार्यक्रमका लागि योग्य ठहरिएका र पाँच करोड डलर वा सो भन्दा कमको कारोबार गर्ने भाडावालहरूलाई लागू हुनेछ ।
तर, आवासीय घर भाडाको हकमा भने आउँदो दिनहरुमा निर्णय गरिने बताएका छन् । मोरिसनका अनुसार राज्य तथा प्रादेशिक सरकारले यसबारेमा छुट्टा–छुट्टै व्यवस्था गर्ने जानकारी दिएका छन् ।
फेसबुक पेज Like गर्नुहोस