युरोकप : आज चार खेल, कुन-कुन टोली भिड्दैछन् ?
काठमाडौं, एजेन्सी - १६ औं संस्करणको युरोकप फुटबलमा आज (सोमबार) चार खेलहरु हुँदैछन् । युरोकपको समूह चरण अन्तर्गत आज समूह ‘बी’ र समूह ‘सी’को समान दुई दुई खेल हुनेछन् ।
समूह सी अन्तर्गत नेदरल्यान्ड्स र नर्थ मेसेडोनियाबीच खेल हुँदैछ । दुई टिमबीचको खेल राति ९:४५ बजे सुरु हुनेछ ।
नेदरल्यान्ड्स यस समूहबाट नकआउट चरणमा प्रवेश गरिसकेको छ । अघिल्ला दुई खेलमा नेदरल्यान्ड्सले लगातार जित निकालेको थियो ।
नर्थ म्यासेडोनियालाई हराएर नेदरल्यान्ड्स समूह विजेता बन्दै अन्तिम १६ मा पुग्न चाहन्छ । ६ अंक जोडेको नेदरल्यान्ड्स शीर्ष स्थानमा रहेको छ ।
यस्तै, समूहको अर्को खेलमा युक्रेन र अष्ट्रिया भिड्दा दुवै टोली स्पष्ट जितको लक्ष्यमा हुनेछन् । खेल ९:४५ बजे सुरु हुनेछ ।यसअघि एक जित र एक हारसहित ३ अंक जोडेका दुवै टिम जित निकाल्दै नकआउट चरणमा पुग्न चाहन्छ ।
युक्रेन र अष्ट्रियाको २ खेलमा समान ३ अंक छ । गोल अन्तरमा युक्रेन दोस्रो र अष्ट्रिया तेस्रो स्थानमा छ । यसैगरी समूह बी अन्तर्गत बेल्जियम र फिनल्यान्डबीच प्रतिस्पर्धा हुँदैछ । खेल नेपाली समयानुसार राति १२:४५ बजे सुरु हुनेछ ।
बेल्जियम यस अघि नै नकआउट चरणमा पुगिसकेको छ । अघिल्ला दुई खेल जितेको बेल्जियमले ६ अंक जोडेको छ । आज फिनल्याण्डलाई हराएर बेल्जियम समूह विजेता बन्न चाहन्छ ।
फिनल्याण्ड पनि बेल्जियमलाई हराएर अन्तिम १६ मा पुग्न चाहन्छ । फिनल्याण्ड २ खेलमा ३ अंक जोडेर समूहको तेस्रो स्थानमा रहेको छ ।
यस्तै, समूहको अर्को खेल डेनमार्क रुसबीचको राति १२:४५ बजेदेखि सुरु हुनेछ । रुस २ खेलमा ३ अंकसहित दोस्रो स्थानमा छ भने डेनमार्क दुई हारबाट अंकविहीन हुँदै पुछारमा छ ।
डेनमार्कलाई हराएमा रुस नकआउट राउण्डमा पुग्नेछ । यसअघि रुस डेनमार्कसँग पराजित भएको थियो भने फिनल्याण्डलाई हराएको थियो ।डेनमार्क यसअघि फिनल्याण्ड र बेल्जियमसँग पराजित भएको थियो । डेनमार्कको पनि नकआउट चरणमा पुग्ने सम्भावना कायमै छ ।

.gif)



फेसबुक पेज Like गर्नुहोस