विश्वकपमा जर्मनीको सानदार सुरुवात
काठमाडौं - फिफा विश्वकप २०२६ मा चार पटकको विश्व च्याम्पियन जर्मनीले सानदार सुरुवात गरेको छ ।
समूह ‘ई’ अन्तर्गतको पहिलो खेलमा जर्मनीले पहिलोपटक विश्वकपमा सहभागी कुराकाओलाई ७–१ को फराकिलो अन्तरले पराजित गर्दै स्पष्ट दबदबा देखाएको हो ।
खेलको छैटौँ मिनेटमै फेलिक्स मेचाले गोल गर्दै जर्मनीलाई अग्रता दिलाएका थिए। तर २१औँ मिनेटमा कुराकाओका लिवाओ कमेनेन्सियाले गोल फर्काउँदै खेल १–१ को बराबरीमा ल्याए पनि त्यसपछि उनीहरू खेलमा टिक्न सकेनन्।
जर्मनीले ३८औँ मिनेटमा निको स्कलट्टरबेकको गोलमार्फत पुनः अग्रता बनायो। पहिलो हाफको अतिरिक्त समयमा प्राप्त पेनाल्टीलाई काई हावर्ट्जले सफलतापूर्वक गोलमा परिणत गर्दै जर्मनीलाई ३–१ को बलियो स्थितिमा पुर्याए।
दोस्रो हाफमा पनि जर्मनीको आक्रमण रोकिएन। ४७औँ मिनेटमा जमल मुसियालाले गोल थपे भने ६८औँ मिनेटमा नाथानियल ब्राउन र ७८औँ मिनेटमा डेनिज उन्डभले गोल गर्दै अग्रता झन् फराकिलो बनाए।
८८औँ मिनेटमा काई हावर्ट्जले आफ्नो दोस्रो गोल गर्दै जर्मनीको ७–१ को शानदार जित सुनिश्चित गरे।
आँकडामा पनि जर्मनी पूर्ण रूपमा हावी देखियो। जर्मनीले २६ शट प्रहार गर्दा ११ वटा लक्ष्यमा थिए भने ६५ प्रतिशत बल नियन्त्रण गर्दै ५९९ पास खेलेको थियो, जसको ८९ प्रतिशत सफल रह्यो। यता कुराकाओले ६ शटमध्ये २ वटा मात्र लक्ष्यमा राख्दै १ गोल गर्न सफल भयो।

.gif)



फेसबुक पेज Like गर्नुहोस