काठमाडौं - आज बस्ने प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले राष्ट्रिय समावेशी आयोगको वार्षिक प्रतिवेदन आर्थिक वर्ष २०७९–०८० पेश गर्ने भएका छन् ।

उक्त बैठक बिहान ११ बजे बस्ने संसद् सचिवालयले जनाएको छ । आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रिय समावेशी आयोगको वार्षिक प्रतिवेदन आर्थिक वर्ष २०७९–०८० पेश गर्ने सम्भावित कार्यसूची छ ।

त्यसैगरी बैठकमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले राष्ट्रियसभामा उत्पत्ति भएको ‘शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक, २०८०’ प्रस्तुत गर्ने कार्यसूची पनि रहेको संसद् सचिवालयले जनाएको छ ।

त्यसैगरी प्रधानमन्त्री प्रचण्डले लगानी सहजीकरणसम्बन्धी केही नेपाल ऐन संशोधन गर्ने विधेयक, २०८१ का सम्बन्धमा राष्ट्रिय सभाबाट भएको संशोधनमाथि सदनमा पुनर्विचारका लागि प्रस्तुत गर्ने सम्भावित कार्यसूची छ । आइतबार (हिजो) पनि प्रतिनिधिसभाको बैठक बसेको थियो ।