सोमबार र मंगलबार चार्टर्ड उडान नहुने
काठमाडौं - कोरोना भाइरसको महामारीको कारण विदेशमा समस्यामा परेका नेपालीको स्वदेश फिर्ति सोमबार र मंगलबार रोकिने भएको छ । गत जेठ २३ बाट सुरु भएको उद्धार कार्य सरकारले दुई दिन रोक्न लागेको हो ।
लगातार लामो समय उडान भइरहँदा विमानस्थल सरसफाई, होल्डिङ सेन्टरको व्यवस्थापन लगायतका थप व्यवस्थापन मिलाउनका लागि उडान रोक्न लागेको विमानस्थल स्रोतले बताएको छ । फेरी बुधबारदेखि जुलाई २१ सम्म एक हप्ता नेपालीको स्वदेश फिर्तीका लागि उडान हुनेछन् ।
आज आइतबार भने विभिन्न ६ उडानमार्फत नेपालीहरु स्वदेश फर्कंदै छन् । जसमा बहराइन, जापानको नारिता, फिलिपिन्सको मनिला, साउदीको दमाम, मलेसियाको क्लालाम्पुर, यूएईको दुबईबाट हिमालय एअरलाइन्स र नेपाल एअरलाइन्सले नेपाली लिएर आउँदै छन् ।
२६ हजार ३ सय ९६ जना नेपाली फर्किए
शनिबारसम्ममा विभिन्न देशबाट २६ हजार ३ सय ९६ जना नेपाली स्वदेश फर्किएका छन् । विभिन्न एअरलाइन्सका १ सय ४९ उडान फ्लाइटमार्फत उनीहरुको उद्धार गरिएको हो ।
अहिलेसम्म संयुक्त अरब एमिरेट्स यूएईबाट ५ हजार ५ सय २७ सय, कुवेतमा आममाफी पाएका र अन्य अलपत्र गरी ५ हजार २ सय ४३ जना र बहराइनबाट ५६७ जना नेपाली स्वदेश फर्किएका छन् ।
यस्तै साउदी अरबबाट ४ हजार ३० जना, मलेसियाबाट ३ हजार ५३, कतारबाट २ हजार ८ सय ८४ जना स्वदेश फर्किएको गैरआवासीय नेपाली संघ एनआरएनएले जनाएको छ । यस्तै अफगानिस्तानबाट १८, अष्ट्रेलियाबाट ४८३, म्यानमारबाट २६, जापानबाट ४९२, थाइल्याण्डबाट ३२६, दक्षिण कोरियाबाट ४७६, बंगलादेशबाट ८४१, माल्दिभ्सबाट ७०९, श्रीलंकाबाट ५, सिंगापुरबाट १४६, हङकङबाट ८९, अमेरिकाबाट ४२३, बेलायतबाट २२९, इजरायलबाट १२७ र चीनबाट १०५ जनालाई स्वदेश फर्किएका छन् । शनिबार मात्रै विभिन्न देशबाट १ हजार ३ सय ८१ जना स्वदेश फर्किएका छन् ।
फेसबुक पेज Like गर्नुहोस