काठमाडौं - गृहमन्त्री रवि लामिछाने र महान्यायाधीवक्ताको कार्यालयविरूद्ध परेको रिटको सुनुवाइ स्थगित भएको छ ।

अधिवक्ता अनुपम भट्टराईले नै सर्वोच्च अदालतमा दायर गरेको रिटमाथिको सुनुवाइ स्थगन गर्न निवेदन दिएपछि आज सुनुवाइ नगरिएको हो।

रिटको सुनुवाइ सर्वोच्च अदालतका न्यायाधीश सुनिलकुमार पोखरेलको इजलासमा तोकिएको थियो ।

अधिवक्ता भट्टराईले दर्ता गराएको रिटको पेशी पोखरेलको इजलासमा १० ‍औँ नम्बरमा थियो । महान्यायाधिवक्ताको कार्यालयले गत वैशाख २४ गते गृहमन्त्री लामिछानेलाई सहकारीको रकम हिनामिनामा कुनै उजुरी/जाहेरी नरहेको पत्र दिएको थियो।

पत्रमा कार्यालयले रुपन्देही, कास्की र चितवनमा बुझ्दा लामिछानेविरूद्ध उजुरी/जाहेरी नरहेको र अनुसन्धान तथा अभियोजन समेत भएको नदेखिएको उल्लेख गरेको थियो।

महान्यायाधिवक्ता कार्यालयको पत्रविरूद्ध अधिवक्ता अनुपम भट्टराईले सर्वोच्च अदालतमा रिट दायर गरेका थिए।