काठमाडौैं,एजेन्सी - युक्रेनले युरोपेली च्याम्पियनसिपको क्वाटरफाइनलमा स्थान पक्का गरेको छ । गएराति भएको राउण्ड अफ १६ को अन्तिम खेलमा १० खेलाडीमा समेटिएको स्विडेनलाई अतिरिक्त समयमा २-१ले पराजित गर्दै युक्रेन अन्तिम आठमा पुगेको हो । 

खेलको २७ औं मिनेटमा ओलेक्जान्दर जिन्चेन्कोले गोल गर्दै युक्रेनलाई सुरुवाती अग्रता दिलाए । ४३ औं मिनेटमा इमिल फोर्सवर्गले गोल गर्दै स्विडेनलाई खेलमा फर्काए । त्यसपछि दुवै टोलीबाट गोल हुन नसक्दा खेल अतिरिक्त समयमा धकेलिएको थियो ।

अतिरिक्त समयको ९९ औं मिनेटमा मार्कस ड्यानीएल्सनले रातो कार्ड पाएर मैदानबाट बाहिरिपछि स्वीडेन १० खेलाडीमा समेटियो । दबाबमा रहेको स्वीडेनमाथि १ सय २०औं मिनेटमा अर्टिम दोभ्बिकले गोल गर्दै युक्रेनलाई २-१को जित दिलाए । 

अब युक्रेनले क्वाटरफाइनलमा इंग्ल्यान्डको सामना गर्नेछ । स्विडेन भने बाहिरिएको छ ।