काठमाडौं - उच्च अदालत पाटनले  र्‍याप गायक भिटेन भनेर चिनिने समिर घिसिङलाई पक्राउ नगर्न अन्तरिम आदेश जारी गरेको छ।पाटन उच्च अदालतका प्रवक्ता शम्भुप्रसाद रेग्मीका अनुसार मुख्य न्यायाधीश नहकुल सुवेदीको इजलासले गीतसंगीतको विषयलाई लिएर पक्राउ नगर्न आदेश गरेको हो। 

प्रहरीले आफूलाई पक्रिन लागेको भन्दै त्यसलाई अन्तरिम आदेशले रोक्न माग गर्दै भिटेन उच्च अदालत पाटन पुगेका थिए। 

उनको रिटमाथि सुनुवाइ गर्दै मंगलबार प्रहरीका नाममा उच्च अदालत पाटनले अन्तरिम आदेश जारी गरेको हो। 'फौजदारी अनुसन्धान तहकीकातको प्रयोजनका लागि प्रचलित कानुन बमोजिमको प्रकृया पूरा गरी पक्राउ गर्नेबाहेक हाल अस्तित्वमा नै नरहेको उक्त गीतसंगीतको विषयलाई लिएर निवेदनको अन्तिम टुंगो नलागेसम्म पक्राउ नगर्नू,' उच्च अदालतको आदेश उद्धृत गर्दै प्रवक्ता रेग्मीले भने। 

उनलाई कारबाही गर्न प्रहरी प्रधान कार्यालयले गएको बिहीबार साइबर ब्युरोलाई चिठी लेखेको थियो। 

भिटेनले एक साताअघि युट्युबमा पोस्ट गरेको र्‍यापको भिडिओमा आपत्तिजनक शब्द प्रयोग भएपछि कारबाही गर्न बिहीबार साइबर ब्युरो भोटाहिटीलाई चिठी लेखिएको केन्द्रीय प्रहरी प्रवक्ता एसएसपी कुवेर कडायतले जानकारी दिएका थिए।  भिटेनले यसपटक ‘पारा’ शीर्षकमा नयाँ भिडिओ सार्वजनिक गरेका थिए।