मुम्बईलाई स्तब्ध पार्दै पन्जाब ११ वर्षपछि फाइनलमा
काठमाडौं - मुम्बई इन्डियन्सलाई ५ विकटले स्तब्ध बनाउँदै पञ्जाब किङ्स् इन्डियन प्रिमियर लिग (आईपीएल)को फाइनलमा प्रवेश गरेको छ।
गएराति भएको क्वालिफायर खेलमा टस हारे पहिले ब्याटिङ गरेको मुम्बईले ६ विकेट गुमाएर २०३ रन बनाएको थियो। २०४ रनको सो लक्ष्य पञ्जाबले एक ओभर बाँकी छँदै ५ विकेट गुमाएर पुरा गरेको थियो।
पञ्जाबको जितको लागि कप्तान श्रेयर ऐयरले अविजित ८७ रनको पारी खेले। ऐरले ४१ बलमा ५ चौका र ८ छक्कासहित ८७ रनको योगदान दिए। नेहाल वाधेराले २९ बलमा ४८ रन बनाए। नेहाल र श्रेयसले चौथो विकेटका लागि ८४ रनको साझेदारी गर्दै टोलीलाई जिततर्फ अघि बढाएका थिए। ओपनर प्रियांश आर्याले २० रन जोडे। जोश इंग्लिसले ३८ रनको योगदान दिँदा प्राभ्सिम्रन सिंहले ६ रन बनाए।
मुम्बईका अश्वनी कुमारले २ विकेट लिँदा ट्रेन्ट बोल्ट र हार्दिक पान्ड्याले १–१ विकेट हात पारे। त्यसअघि अमदाबादमा पानी परेर दुई घण्टा ढिला सुरु भएको खेलमा मुम्बईले २० ओभरमा ६ विकेट गुमाएर २ सय ३ रन जोडेको थियो। कप्तान रोहित शर्मालाई तेस्रो ओभरमै ८ रनमा गुमाएपछि जोनी बेयरस्टो र तिलक वर्माले ५१ रनको साझेदारी गर्दै टोलीलाई राम्रो सुरुवात दिलाए।
बेयरस्टोले २४ बलमा ३ चौका र २ छक्कासहित ३८ रन जोडे। तिलक र सूर्यकुमार यादवले तेस्रो विकेटका लागि ७२ रनको साझेदारी गरे। सूर्यले २६ बलमा ४ चौका र ३ छक्कासहित ४४ रन जोडे। तिलक पनि १४औं ओभरमा आउट हुनुअघि २९ बलमा २ चौका र २ छक्कासहित समान ४४ रन बनाउँदै आउट भए।
नमन धिरले १८ बलमा ७ चौकासहित ३७ रन जोडेसँगै मुम्बईले २ सय रनको आँकडा छोएको थियो। कप्तान हार्दिक पान्ड्याले १३ बलमा १५ बनाए।
पन्जाबका लागि अजमतुल्लाह ओमारजाइले २ तथा काइल जेमीसन, मार्कस स्टोइनस, विजयकुमार वाइसक र युजभेन्द्र चहलले १–१ विकेट लिए।
पहिलो क्वालिफायर्समा पन्जाबलाई ८ विकेटले हराउँदै रोयल च्यालेंजर्स बेंगलुरुले फाइनलमा स्थान सुरक्षित गरिसकेको छ। फाइनल खेल मंगलबार अहमदाबाद मैदानमा हुनेछ। दुवै टिमले अहिलेसम्म उपाधि नजितेकाले यसपटक आईपीएले नयाँ विजेता पाउने भएको छ।

.gif)



फेसबुक पेज Like गर्नुहोस