काठमाडाैं - प्रधानमन्त्री शेरबहादुर देउवाले सरकार गठनको झन्डै तीन महिनापछि आज शुक्रबार मन्त्रिपरिषद विस्तार गर्दैछन् । प्रधानमन्त्री देउवा सचिवालयले जनाएअनुसार सत्तारूढ गठबन्धनसँग मन्त्री हुनेहरूको नाम मागिएको छ ।  नाम प्राप्त हुनासाथ आजै मन्त्रिपरिषद्लाई पूर्णता दिने तयारी छ । 

सत्तासाझेदार नेकपा माओवादी केन्द्रले बुधबार नै मन्त्री बन्नेहरुको नाम टुंगो लगाइसकेको छ । नेपाली कांग्रेस, नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टी (जसपा) भने आन्तरिक छलफलमा छन् । 

कांग्रेसले आठ मन्त्री र एक राज्यमन्त्री, माओवादी केन्द्रले पाँच मन्त्री र एक राज्यमन्त्री, एकीकृत समाजवादीले चार मन्त्री र एक राज्यमन्त्री र जसपाले चार मन्त्री लिने सहमति यसअघि नै जुटिसकेको छ ।

दलहरूबीच बिहीबार पनि छलफल भएको थियो । देउवा २९ असारमा प्रधानमन्त्री बनेका थिए । 

नेपाली कांग्रेसले प्रधानमन्त्रीसहित रक्षा, गृह, परराष्ट्र, सञ्चार तथा सूचना प्रविधि, महिला तथा बालबालिका र युवा तथा खेलकुद मन्त्रालय लगायत राखेको छ । त्यस्तै, नेकपा माओवादी केन्द्रले अर्थ, ऊर्जा, शिक्षा, विज्ञान तथा प्रविधि, भूमि व्यवस्था तथा गरिबी निवारण र खानेपानी मन्त्रालय पाउने भएको छ भने जसपाले भौतिक पुर्वाधार तथा यातायात, कृषि तथा पशुपन्छी, संघीय मामिला तथा सामान्य प्रशासन र बन तथा बातावरण पाउने सहमति भएको छ । साथै, एकिकृत समाजवादीले स्वास्थ्यसहित शहरी विकास, संस्कृति तथा पर्यटन र श्रम तथा रोजगार मन्त्रालय पाएको छ ।