काठमाडौं , विराटनगर - प्रदेश १ का मुख्यमन्त्री भीम आचार्यले आज प्रदेशसभा बैठकमा विश्वासको मत लिने भएका छन् ।

आचार्यले शुक्रबार प्रदेशसभा बैठकमा विश्वासको मत सम्बन्धी प्रस्ताव पेस गरेका थिए ।

प्रस्तावमाथि छलफल र मतविभाजनका लागि सभामुख प्रदीपकुमार भण्डारीले आज साढे १२ बजे नवौं तथा हिउँदे अधिवेशनको चौथो बैठक डाकेका छन् ।

एमाले विभाजनपछि अल्पमतमा रहेका आचार्यले प्रदेशसभामा विश्वासको मत पाउने सम्भावना रहेको छैन । ९२ जना प्रदेशसभा सदस्य रहेको प्रदेश १ मा बहुमतका लागि ४७ मत आवश्यक पर्छ ।

सत्ता पक्ष एमालेसँग सभामुखसहित ४१ सांसद छन् ।  प्रदेशसभामा विपक्षी गठबन्धनको पक्षमा ५० जना सांसद् छन् । एक सांसद रहेको राप्रपा भने कुनै पक्षमा खुलेको छैन ।

आज बस्ने बैठकमा मुख्यमन्त्रीले विश्वासको मत नपाए प्रदेश प्रमुखले नयाँ सरकार गठनका लागि आह्वान गर्नेछन् ।